लुकीछिपी भिडियो बनाई चरित्र हत्या गर्ने एवं धम्की दिएर ठगी गरेको आरोपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुरा बडी मालिका नगरपालिका ७ बस्ने २७ वर्षका शान्तराज तिमिल्सेना रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।
तिवारीका अनुसार पक्राउ परेका तिमिल्सेनाले २६ वैशाखका दिन लुकीछिपी भिडियो बनाई ‘चरित्र हत्या गर्छु, विभिन्न सामाजिक सञ्जालमा हालिदिन्छु’ भन्दै एकजनासँग ५० लाख फिरौती मागेका थिए ।
फिरौती माग गरेको भन्दै कास्की प्रहरीमा परेको जाहेरीको आधारमा तिमिल्सेनालाई प्रहरीले पक्राउ गरेको हो । ५० लाख फिरौती मागेपछि ती व्यक्तिले तीन लाख रकम दिएको र पछि पुनः पटक-पटक बाँकी रकम मागी धम्की दिएपछि पीडितका तर्फबाट कास्की प्रहरीमा उजुरी परेको तिवारीले जानकारी दिए ।
पीडितको उजुरीपछि कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा तिमिल्सेनालाई पक्राउ गरी पोखरा ल्याएर थप अनुसन्धान प्रक्रिया सुरु गरेको जनाएको छ ।