अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–३ की सोना सोमैले बिहान १० बज्नै लाग्दा छोरालाई काखमा च्यापेर विद्यालय ल्याउँछिन्। उनका छोरा दुर्गा आधारभूत विद्यालयको शिशु कक्षामा अध्ययन गर्छन्। तीन स्थायी शिक्षक, एक बालविकास शिक्षक र एक कार्यालय सहयोगी गरी पाँचजना कार्यरत यस विद्यालयमा विद्यार्थी भने उनी एकजना मात्र छन्। विद्यालयमा बालविकासको कोठाबाहेक अन्य कक्षाकोठा र शौचालयको ताला नखुलेको दुई वर्ष भइसक्यो।
सोनाले पनि छोरा सानै भएकाले र बानी बसाल्नका लागि मात्र घरनजिकैको विद्यालयमा भर्ना गरेकी हुन्। ‘गाउँका सबैले अलिपरको विद्यालयमा छोराछोरी पढाउँछन्। मेरो बाबु त ढाई वर्षको भयो। बानी पार्नका लागि यहीँ लिएर आउँछु,’ उनले भनिन्। विद्यालयको अवस्था दिनप्रतिदिन खस्किँदो छ। त्यसमाथि पनि प्रधानाध्यापकलाई विद्यालयमा भेट्न मुस्किल रहेको उनको गुनासो छ। ‘विद्यालयको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ। प्रअ नै विद्यालयमा नबसेपछि अभिभावकहरूले कसरी विश्वास गर्ने ? पहिले सयभन्दा धेरै विद्यार्थी थिए। अहिले अवस्था दयनीय छ,’ उनले भनिन् ।
दुर्गा आधारभूत विद्यालयमा शिक्षकअनुसार विद्यार्थी नहुँदा नगरपालिकाकै जनता आधारभूत विद्यालयमा भने दुई स्थायी शिक्षकको भरमा ११७ विद्यार्थीलाई अध्यापन गराउनुपर्ने बाध्यता छ। यहाँका अभिभावकहरू निजी स्रोतमा शिक्षक राख्न बाध्य छन्।
जिल्लाको सन्धिखर्क नगरपालिकाले शिक्षक दरबन्दी मिलान गर्न नसक्दा कतै विद्यार्थी नभएर शिक्षक खाली छन् भने कतै शिक्षकको अनुपातमा विद्यार्थी अत्यधिक छन्। जिल्लाका अन्य पाँच स्थानीय तहले दरबन्दी मिलान गरिसक्दा सन्धिखर्कले भने उल्लेख्य प्रगति गर्न सकेको छैन। दरबन्दी मिलान नगर्दा नगरभित्रका विद्यालयमा कतै शिक्षकहरूले घाम तापेर दिन बिताउनुपरेको छ भने कतै अभिभावकहरूलाई निजी शिक्षक राख्नुपर्ने बाध्यता छ।
नगरपालिकाले पछिल्लो एक वर्षदेखि शिक्षक पठाउने भने पनि राजनीतिक खिचातानीका कारण दरबन्दी मिलान नहुँदा समस्या भएको बताउँछिन् जनता आधारभूत विद्यालयकी प्रअ गीता बन्जाडे । ‘दरबन्दी थपिएको भनेर पत्र पनि आएको एक वर्ष भयो । तर, शिक्षक भने आउनुभएन। नगरपालिकामा हुने प्रधानाध्यापकको बैठकमा पटकपटक कुरा उठाउँदा गर्दै छौँ भन्नुहुन्छ। तर, कार्यान्वयन भएको छैन,’ प्रअ बन्जाडेले भनिन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पोख्रेलको पनि दरबन्दी मिलान नहुँदा समस्या परेको गुनासो छ। उनी भन्छन्, ‘अंग्रेजी माध्यमबाट नर्सरी, युकेजी, एलकेजी हुँदै कक्षा ६ सम्म अध्यापन हुने विद्यालयमा विद्यार्थी संख्याअनुसार शिक्षक दरबन्दी नहुँदा समस्या भएको छ।’
स्थानीय तहले समयमा दरबन्दी मिलान नगर्दा यस्ता समस्या देखिएको पाइएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मणिराम पराजुली बताउँछन्। ‘जिल्लाका पाँच स्थानीय तहले शिक्षक दरबन्दी मिलानको कार्य सुरु गरे पनि सन्धिखर्क नगरपालिकाले गर्न सकेन। त्यसैले समस्या भएको छ,’ उनले भने ।
२०७४ देखि अहिलेसम्म दरबन्दी मिलानको काम सक्नुपर्नेमा उक्त कार्य सम्पन्न नभएको पाएकाले छिट्टै अनुगमन गरी दरबन्दी मिलान गर्ने सन्धिखर्कका नवनिर्वाचित नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । उनले भने, ‘मभन्दा पहिलाका जनप्रतिनिधीहरूले नै शिक्षक दरबन्दी मिलानको काम गर्नुपर्थ्याे। त्यो उहाँहरूको राजनीतिक दाउपेच र इच्छाशक्ति अभावले हुन सकेन। अब मेरो कामको सुरुवात शिक्षक दरबन्दी मिलानबाट हुन्छ।’