बागलुङको गलकोट नगरपालिका– ६ चरौँदी खोलामा जेसिबी दुर्घटना हुँदा एकजना घाइते भएका छन्। पुलको साइडमा माटो भर्ने क्रममा प्रदेश नम्बर ३–०१००३ क ५८९१ नम्बरको जेसिबी दुर्घटना भएको ट्राफिक प्रहरी हवल्दार त्रिचन्द्र घर्तीमगरले जानकारी दिए।
घर्तीका अनुसार दुर्घटनामा परी सहचालक जाजरकोट निवासी १८ वर्षीय जगत मल्लको बायाँ हातमा चोट लागेको छ। घाइते मल्लको अहिले आरोग्य अस्पताल हटियामा उपचार भइरहेको प्रहरी नायव निरीक्षक विष्णु रेग्मीले जानकारी दिए।
दिउँसो करिब ३ बजे गलकोटको हटियादेखि ताराखोला जोड्ने कृषि सडकअन्तर्गत चरौँदी खोलाको पुलको दुवैतर्फ माटो फिलिङ गर्ने क्रममा जेसिबी पल्टिएको हो। जेसिबी खड्का कृष्ण जे.भी कन्स्ट्रक्सनको रहेको प्रहरीले जनाएको छ। चालक दाङ शान्तिनगर गाउँपालिका– २ घर भई गलकोट– ६ बस्ने बेलप्रसाद बुढा प्रहरी नियन्त्रणमा रहेको रेग्मीले जानकारी दिए।