नेपालमा ह्वावेको दोस्रो ‘सिड्स फर द फ्युचर’ कार्यक्रम सुरु

आइतबार, २२ जेठ, २०७९
डिजिटल संस्करण

ह्वावेले नेपाली विद्यार्थीका लागि  ‘सिड्स फर  द फ्युचर’ र आइसिटी विद्यार्थीका लागि ग्लोबल फ्ल्यागसिप सिएसआर कार्यक्रम सुरु गरेको छ। गत मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कम्पनीले सो कार्यक्रम सुरु गरेको हो।

ह्वावेले नेपालमा कार्यक्रम सुरु गरेको यो दोस्रो वर्ष हो। यो कार्यक्रम नेपालका सबै आइसिटीसम्बन्धी विषयका स्नातक तहका विद्यार्थीका लागि लागू हुनेछ। कार्यक्रम पहिलोपटक थाइल्यान्डमा सन् २००८ मा सुरु भएको थियो। त्यसवेलादेखि एक सय ३० भन्दा बढी देश र क्षेत्रका १२ हजारभन्दा बढी विद्यार्थीले कार्यक्रममा भाग लिएका छन्। यस वर्ष प्रतिस्पर्धात्मक आवेदन प्रक्रियाबाट छनोट भएका नेपालका सात विद्यार्थीले अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा हुने पहिलो क्षेत्रीय कार्यक्रममा सहभागी हुन पाउनेछन्।

पत्रकार सम्मेलनमा ह्वावेले प्रा.डा. शशिधर राम जोशी, प्रा.डा. सुवर्ण शाक्य, प्रा. तिमिलायामी थापा र प्रा.डा. मनीष पोखरेलसहित आइसिटीका सबै प्रतिष्ठित प्राध्यापक सम्मिलित कार्यक्रमको छनोट समितिको परिचय गराइएको थियो। यस वर्ष ह्वावेले नेपालमा युनेस्कोसँग पनि साझेदारी गरेको छ। संस्थाले आफ्नो नेक्स्ट फिप्टी अभियानअन्तर्गत विद्यार्थीलाई संलग्न गराउनेछ।

कार्यक्रमले विद्यार्थीलाई नेपालको आइसिटी उद्योगमा पहिलो अन्तर्दृष्टि प्राप्त गर्ने र बैंककको नाै दिनको यात्रा गर्ने अवसर प्रदान गर्नेछ। बैंककमा विद्यार्थीले फाइभजी, क्लाउड कम्प्युटिङ र एआईलगायत प्रमुख प्रविधिमा प्रवेशस्तरका पाठ्यक्रमहरू प्राप्त गर्नेछन् । अत्याधुनिक आइसिटी विकासबारे जान्नेछन् । एसिया प्यासिफिक क्षेत्रबाट साथीहरू बनाउनेछन् र टेक फोर गुड समूह परियोजनामा भाग लिनेछन्।

कार्यक्रम उत्कृष्ट शैक्षिक पृष्ठभूमिको साथ कुनै पनि आइसिटी डिस्सिप्लिन का स्नातक विद्यार्थीका लागि खुला छ। विद्यार्थीले www.seedsnepal.com मा गई सो कार्यक्रममा आवेदन दिन सक्नेछन्।

सुझावित समाचार