भैरहवा बस दुर्घटना : मृतकमध्ये चारजनाको सनाखत

आइतबार, २२ जेठ, २०७९
डिजिटल संस्करण

भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी पुलमा दुर्घटनामा मृत्यु भएका नौजनामध्ये चारजनाको सनाखत भएको छ। युनिभर्सल मेडिकल कलेजका तीन र भीम अस्पतालमा एक मृतकको सनाखत भएको हो।

मृत्यु हुनेहरूमध्ये बुटवलको योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, बुटवल– ११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहटका २० वर्षीय दिनेश दास र रूपन्देहीको ओमसतिया गाउँपालिका– ४  मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेका प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुने २३ जनाको पनि नाम खुलेको छ। उनीहरूको अहिले मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी नवरत्न पौडेलले जानकारी दिए।

आइतबार बिहान करिब साढे ४ बजे बस रोहिणी पुलबाट खोलामा खसेको थियो। दुर्घटनामा पाँचजनाको मेडिकल कलेज भैरहवामा र चारजनाको भीम अस्पतालमा मृत्यु भएको थियो। जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु.२ख ३८४१ नम्बरको ३३ जना सवार बस रोहिणी नदीमा खसेको हो।

सुझावित समाचार