म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोला र ८ कुइनेमंगलेका दुर्गम बस्तीहरूमा नेपाल टेलिकमको पहुँच विस्तार भएको छ । टेलिकमको सेवा विस्तारले मोबाइल फोनका लागि अग्ला डाँडा र रूखमा चढेर नेटवर्क खोज्नुपर्ने बाध्यता हटेपछि स्थानीयवासी हर्षित बनेका छन् ।
रघुगंगा गाउँपालिका–७, चिमखोलाको पुस्तिबाङ डाँडामा अस्थायी रूपमा विद्युत्को पोलमा बिटियस जडान गरेर सेवा सुचारु गरिएको नेपाल टेलिकम म्याग्दीका प्रमुख दामोदर सिम्खडाले जानकारी दिए । उनले भने, ‘तत्कालका लागि बिजुलीको पोलमा उपकरण जडान गरेका छाैँ, टावर निर्माणका लागि ठेक्का लगाइसकिएको छ, फाउन्डेसनको काम पनि सकिएको छ, छिट्टै स्थायी संरचनाबाटै सेवा सुचारु हुन्छ ।’ समुद्री सतहदेखि दुई हजार ६ सय मिटर उचाइमा रहेको पुस्तिबाङ डाँडामा टेलिकमको २५ मिटर अग्लो टावर निर्माण गर्ने योजना रहेको छ ।
तत्कालका लागि टुजी र थ्रिजीमार्फत भ्वाइस र डेटा एकसाथ सञ्चालनमा आएको र पक्की टावर निर्माण भएपछि अत्याधुनिक प्रविधिको चौथो पुस्ताको फोरजी मोबाइल सेवा सञ्चालनमा आउने रघुगंगा गाउँपालिका–७, चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजा (रिम)ले जानकारी दिए । उनका अनुसार टावरका महत्वपूर्ण उपकरण राख्नका लागि गाउँपालिकामार्फत टावर परिसरमा भवनसमेत निर्माण भइसकेको छ ।
टावर बनेपछि चिमखोलाको जस्लाबाङ, पात्लेखेत, गौडामानी, नगलडाँडा, कुइनेमंगलेको मंगलेखानी, घ्यासीखर्क, दुवाडी, ढाँड, पात्लेखर्क, चौरखानीलगायतका दुर्गम बस्तीहरूमा मोबाइल फोनको सहज पहुँच पुगेको छ ।