एक सय ९७ तोला २८ लाल चाँदीसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका– ११ स्थायी घर भई गैँडाकोट नगरपालिका– ५ बस्ने २४ वर्षीय कुमार विक छन्।
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनलाई भरतपुर महानगरपालिका– ११ स्थित भोजाड–पदमपुर सडकखण्डबाट पक्राउ गरिएको हो। उनलाई रु. दुई लाख २८ हजार एक सय ९७ बराबरको विनाबिलको चाँदीका गरगहनासहित नियन्त्रणमा लिइएको हो।
विकको साथबाट प्रदेश ०३–००२प ७०६६ नम्बरको पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको उनले जानकारी दिए। पक्राउ परेका उनलाई बुधबार आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको प्रहरीले जनाएको छ। रासस