चुनावमुखी बजेट ल्याएको विपक्षी सांसदहरूको आरोप, अर्थमन्त्री शर्मा भन्छन्– बजेट बनाउँदा चुनाव दिमागमै थिएन
राष्ट्रिय सभामा बजेटमाथिको सामान्य छलफल सकिएको छ । बुधबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका छन् । चुनावकेन्द्रित बजेट आएको भन्ने सांसदहरूको प्रश्नको जवाफ दिँदै शर्माले बजेट बनाउँदा आफूले चुनाव नसम्झिएको स्पष्ट पारे ।
बजेट र चुनावको सम्बन्ध नरहेको उनको भनाइ थियो । ‘यो बजेट बनाउँदा मेरो दिमागमा चुनाव भन्ने थिएन । चुनावसँग यसको सम्बन्ध छैन । अहिलेको समस्यालाई कसरी समाधान गर्ने, कसरी उत्पादन वृद्धि गर्ने, कसरी रोजगारी सृष्टि गर्ने, कसरी गरिबी निवारण गर्ने भन्ने कुरासँग मात्र सम्बन्धित छ,’ उनले भने ।
सरकारले मुलुकको विद्यमान परिस्थितिलाई ख्याल गरेरै बजेट ल्याएको उनले दाबी गरे । बजेटमा त्रुटि छैनन् भन्ने आफ्नो दाबी नरहेको, तर असल पक्ष पनि रहेको उनको भनाइ छ । मुलुकको समस्या समाधान गर्ने योभन्दा अर्को बाटो नरहेको उनको भनाइ थियो । ‘मैले सुुनिरहेको छु, देश संकटमा छ । यो संकटलाई यसले समाधान गर्दैन भन्ने प्रश्न उठिरहेको छ । यदि संकटमा छ भने पनि यसको समाधान यही हो । छैन भने पनि यसको समाधान यही हो । योभन्दा अर्को समाधान छैन,’ शर्माले भने ।
उनले बजेटले अनुदान नदिनेमा ढुक्क हुन पनि प्रतिपक्ष दलहरूलाई आग्रह गरे । बजेटले पैसा बाँड्ने र अनुदान दिने व्यवस्था नगरेको उनको भनाइ थियो ।
प्रतिनिधिसभामा छलफल जारी
आगामी बजेटमाथि छलफल चलिरहँदा बुधबारको प्रतिनिधिसभा बैठक । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
प्रतिनिधिसभामा भने बजेटमाथिको सामान्य छलफल जारी छ । बुधबारको बैठकमा पूर्वअर्थमन्त्री तथा एमाले सांसद सुरेन्द्र पाण्डेले अहिलेको बजेटले मुलुकको समस्या समाधान नगर्ने दाबी गरे । बरु समस्यालाई गहिर्याउने र अर्को वर्ष चर्को समस्यामाथि छलफल गर्नुपर्ने स्थिति आउने उनको भनाइ थियो । मुलुकको संकट र बजेट फरक–फरक दिशातिर हिँडेको उनले आरोप लगाए । वृद्धभत्ता एमालेको ब्रान्ड भएकोसमेत पाण्डेले बताए । वृद्धभत्ता पाउने उमेर घटाएर ६८ वर्षमा ल्याए पनि नागरिकले एमालेलाई नै धन्यवाद दिने उनले दाबी गरे ।
माओवादी सांसद शक्ति बस्नेतले अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटको हरेक बुँदाको नियतमाथि प्रश्न गर्दा सही ठाउँमा नपुगिने बताए । परिणाम पर्खिर्ने धैर्य राख्न प्रतिपक्ष दलहरूलाई उनको सुझाव थियो ।
बजेट आत्मनिर्भर र उत्पादनमुखी रहेको बस्नेतको भनाइ थियो । यसले गरिबी निवारण, निर्यात प्रवर्द्धन, व्यापार सन्तुलनसहित अर्थतन्त्रको संरचनात्मक परिवर्तनमा योगदान पुर्याउने उनले दाबी गरे । मधेस, कर्णाली, ज्येष्ठ नागरिक, दीर्घरोगीलगायत पछाडि रहेका वर्ग/समुदायका लागि ल्याइएको सहुलियतपूर्ण कार्यक्रमहरूले बजेटको समावेशी चरित्रलाई प्रदर्शन गरेको उनले बताए ।
बजेटले खुसी र दु:खी दुवै बनायो : यादव
जसपा सांसद प्रदीप यादवले बजेटले खुसी र दु:खी दुवै बनाएको बताए । हुलाकी राजमार्गका लागि छुट्याएको बजेट थोरै भएकाले पुनर्विचार गर्न यादवले अर्थमन्त्री शर्मालाई आग्रह गरे । मधेसका लागि योजनाहरूसमेत खासै नपरेको उनको भनाइ थियो । गठबन्धन सरकारबाटै मधेस प्रदेशलाई दिने अनुदान घटाइनु चिन्ताजनक रहेको उनले बताए ।

मुलुकको अहिलेको अवस्थामा बजेट अत्यन्तै राम्रो आएको माओवादी सांसद देव गुरुङको भनाइ थियो । नेपालको सामाजिक, आर्थिक रूपान्तरणका लागि र नेपाली अर्थतन्त्रले भोग्दै आएको चुनौतीलाई सामना गर्ने मामिलामा बजेटको प्रस्ताव उपयुक्त रहेको उनले बताए । प्रतिपक्ष दलहरूले बजेटलाई प्रचारमुखी, चुनावमुखी, महत्वाकांक्षी भनेकोमा गुरुङको आपत्ति थियो । ‘संसदीय व्यवस्थाअनुसार सत्तापक्ष र विपक्ष रहेको अवस्थामा सत्तापक्षले जे ल्याए पनि विरोध गर्ने प्रकारको परम्परागत संस्कृति हो भने मेरो भन्नु केही छैन । तर, उहाँहरूले जसरी विरोध गरिरहनुभएको छ, यथार्थमा त्यो विरोधका लागि विरोध मात्र हो जस्तो लाग्छ,’ उनले भने ।
लोसपा सांसद विमलप्रसाद श्रीवास्तवले बजेट वक्तव्यमा उल्लेख भएझैँ वीरगन्जमा चिनी मिल सञ्चालनमा आए आफ्नो नामको एउटा घर सरकारलाई दिने घोषणा गरे । उक्त घरको मूल्य एक–डेढ करोड रुपैयाँ पर्ने उनको भनाइ थियो । जनमोर्चा सांसद दुर्गा पौडेलले बजेटमा थुप्रै सकारात्मक कार्यक्रम समावेश भए पनि यसको कार्यान्वयनको पक्ष महत्वपूर्ण रहने बताइन् । ‘बजेटमा सकारात्मक महत्वका कैयौँ कार्यक्रम समावेश गरिएका छन् । तिनलाई कार्यान्वयन गरेमा देशमा दिगो विकास हुन सक्ने आशा गर्न सकिन्छ । तर, गत वर्षहरूमा बजेटका धेरैजसो कार्यक्रम कार्यान्वयन हुन सकेका छैनन् । आगामी वर्षमा त्यस्तो नहोस्,’ उनले भनिन् ।
एकीकृत समाजवादीका सांसद गोपालबहादुर बमले बजेटमा समावेश कार्यक्रम कार्यान्वयनमा नजाँदा विकट क्षेत्रहरूको जनजीविकामा परिवर्तन नआएको भनाइ राखे ।