संसदीय समितिमा सांसदहरूको हेरफेर र चयन

मंगलबारको प्रतिनिधिसभा बैठकबाट २६ जना सांसदको संसदीय समिति चयन तथा परिमार्जन

बुधबार, १८ जेठ, २०७९
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा

सभामुख अग्निप्रसाद सापकोटाले मंगलबारको प्रतिनिधिसभा बैठकबाट २६ जना सांसदको संसदीय समिति चयन तथा परिमार्जन गरेका छन् । संसदीय समिति हेरफेर नहुँदा विगतमा मन्त्री बनेका कतिपय सांसद समितिमा पुगेका थिएनन् । सभामुखले कार्यव्यवस्था परामर्श समितिका सदस्य पनि हेरफेर गरेका छन् ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पुगेका छन् । उनी यसअघि संसदीय समितिमा थिएनन् । प्रधानमन्त्री सबै समितिको पदेन सदस्य रहने व्यवस्थाअनुसार उनी पनि प्रधानमन्त्री रहँदासम्म सबै समितिका पदेन सदस्य थिए । तर, समिति हेरफेर नहुँदा सरकारबाट बाहिरिए पनि उनी समितिमा पुगेका थिएनन् । 

तत्कालीन प्रधानमन्त्री ओलीको मन्त्रिमण्डलमा रहेका अन्य सांसदहरूको पनि समिति टुंगो लगाइएको छ । एमाले सांसदहरू ईश्वर पोखरेल र प्रदीप ज्ञवाली पनि अन्तर्राष्ट्रिय सम्बन्ध समिति पुगेका छन् । एमाले सांसद भानुभक्त ढकाल कानुन, न्याय तथा मानव अधिकार समितिमा पुगेका छन् । एमालेकै अर्का सांसद पार्वत गुरुङ कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र कृष्णगोपाल श्रेष्ठ राज्यव्यवस्था तथा सुशासन समितिमा रहने भएका छन् ।

एमालेले वसन्तकुमार नेम्वाङ र पद्मा अर्याललाई विकास तथा प्रविधि समितिमा पठाएको छ । त्यस्तै, शिवमाया तुम्बाहाम्फे र गणेशसिंह ठगुन्नालाई सार्वजनिक लेखा समितिमा लगेको छ । माओवादीले शक्तिबहादुर बस्नेतलाई कृषि समितिबाट राज्यव्यवस्था तथा सुशासन समितिमा पठाएको छ । त्यस्तै, हरिराज अधिकारीलाई अर्थ समितिबाट राज्यव्यवस्था समितिमा लगेको छ । कांग्रेसले मीनेन्द्र रिजाललाई अर्थ समितिमा राखेको छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार हरेक समितिमा २७ जना सदस्य रहन्छन् । नियमावलीको नियम १७२ मा विषयगत समितिमा सभामुखले प्रतिनिधिसभाको सहमति लिई पदेन सदस्यबाहेक बढीमा २७ जना सदस्य मनोनयन गर्ने व्यवस्था छ ।

प्रतिनिधिसभाअन्तर्गत दशवटा समिति छन् । संसद् सचिवालयका अनुसार दशवटा समितिमध्ये सातवटामा २७–२७ सदस्य रहनेछन् । बाँकी तीनवटा समितिमा २६–२६ जनाका दरले बस्नेछन् । सचिवालयका अनुसार सत्तामा रहने संसदीय दलको प्रत्येक समितिमा कम्तीमा एक र बढीमा दुईजनासम्म सदस्य कम हुन्छन् ।

कार्यव्यवस्था परामर्श समितिको हेरफेर हुँदा एमालेका तर्फबाट कृष्णभक्त पोखरेल, खगराज अधिकारी, प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र शेरबहादुर तामाङ रहेका छन् । कांग्रेसबाट सचेतक पुष्पा भुषाल, बहादुरसिंह लामा, राजेन्द्र केसी सदस्य रहेका छन् । माओवादीबाट प्रमुख सचेतक देवप्रसाद गुरुङ, रेखा शर्मा र रामकुमारी चौधरी छन् । लोसपाबाट उमाशंकर अरगरिया, एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ र जसपाबाट प्रमोद साह सदस्य रहेका छन् । 

सुझावित समाचार