दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याकबक्स’ भेटियो, जसबाट पत्ता लाग्नेछ दुर्घटनाको कारण

मंगलबार, १७ जेठ, २०७९
डिजिटल संस्करण
दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याकबक्स’ भेटियो, जसबाट पत्ता लाग्नेछ दुर्घटनाको कारण

प्रतिकात्मक तस्बिर ।

आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको विमानको ‘ब्ल्याकबक्स’ भेटिएको छ। दुर्घटनास्थलमा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले विमानको ब्ल्याकबक्स भेट्टाएको हो।

ब्ल्याकबक्सलाई ककपिट भ्वाइस रेकर्डर (सिभिआर) पनि भनिन्छ। यसमा पाइलटले उडानको वेलामा जहाजभित्र गरेको संवाद रेकर्ड हुन्छ। अझ ठूला जहाजको ‘ब्ल्याकबक्स’मा फ्लाइट डेटासमेत रेकर्ड हुन्छ। तर, ट्विनअटर जहाजको ब्ल्याकबक्सभित्र भने पाइलटले टावर र चालक दलका व्यक्तिसँग गरेको कुराकानी मात्रै रेकर्ड हुन्छ। यसको आधारमा जहाज दुर्घटनाको कारण पत्ता लगाउन सकिन्छ।

‘उडानको वेलामा पाइलटले गरेको संवाद सिभिआरमा रेकर्ड हुन्छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले भने, ‘उक्त भ्वाइस रेकर्डबाट जहाज दुर्घटनाको कारणसमेत पत्ता लाग्न सक्छ।’ उनका अनुसार उक्त ब्ल्याकबक्स आजै काठमाडौं ल्याइँदै छ।
 
जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये १० जनाको शव नेपाली सेनाले सोमबार काठमाडौं ल्याएको थियो। अन्य शव आज ल्याइँदै छ। आज बिहान सबै शव संकलन भइसकेका छन्। केहीबेरमा ती शव काठमाडौं ल्याइने बताइएको छ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटना हुँदा चालक दलका तीन सदस्यसहित २२ जनाको मृत्यु भएको थियो। दुर्घटनाग्रस्त अवस्थामा जहाज सोमबार बिहान थासाङ गाउँपालिका– २ को सानोसरे भन्ने ठाउँमा भेटिएको थियो।

सुझावित समाचार