सरकारले आयकर तिर्नुपर्ने आम्दानीको सीमा डेढ लाख रुपैयाँसम्म बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले व्यक्तिको हकमा ५ लाख रुपैयाँ र दम्पतीको हकमा ६ लाख रुपैयाँसम्मको आम्दानीमा कर तिर्नुनपर्ने घोषणा गरेका छन् ।
सरकारले आयकरको सीमा व्यक्तिको हकमा एक लाख रुपैयाँ र दम्पतीको हकमा डेढ लाख रुपैयाँसम्म बढाएको हो । यसअघि व्यक्तिले ४ लाख रुपैयाँसम्म र दम्पतीले साढे चार लाख रुपैयाँसम्मको आम्दानीमा कर तिर्नुपर्दैनथ्यो ।
निजी क्षेत्रका संस्थाहरूले आयकरको सीमा व्यक्तिको हकमा ७ लाख रुपैयाँ र दम्पतीको हकमा ८ लाख रुपैयाँ पुर्याउन सुझाव दिएका थिए । यसअघि चौतर्फी रूपमा पटक–पटक आयकरको सीमा बढाउन सुझाव दिँदा पनि सरकारले कार्यान्वयनमा चासो नेदखाए पनि यसपटक भने आयकरको सीमा बढाउने निर्णयमा पुगेको हो ।