लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पार्टी नेतृ एवं सांसद चन्दा चौधरीमाथि चुनावका वेला महोत्तरीको मटिहानीमा भएको दुर्व्यवहारका घटनामा संलग्नमाथि कारबाहीका लागि आग्रह गरेका छन् । गृहमन्त्री बालकृष्ण खाणसँग शनिबार भएको भेटमा ठाकुरले ज्यान लिने उद्देश्यले चौधरीमाथि अभद्र व्यवहार र आक्रमण भएको भन्दै निवेदनका आधारमा दोषीमाथि कारबाहीको माग गरेका हुन् । चौधरीमाथि २७ वैशाखमा मटिहानीमा एकीकृत समाजवादीका कार्यकर्ताले आक्रमण गरेका थिए ।
अध्यक्ष ठाकुरले संसदमा पनि चौधरीमाथि ‘सांघातिक आक्रमण’ भएको, उनकी ८० वर्षीया आमामाथि गाली बेइजित भएको र निर्वाचनमा चौधरीसहित आफ्ना दलका नेता–कार्यकर्तामाथि आतंक मच्चाएको आरोप लगाएका थिए । लोसपा नेता राजेन्द्र महताेले शुक्रबार र लक्ष्मणलाल कर्णले शनिबार पनि संसद्मा यो विषय उठाएका थिए ।
‘गृहमन्त्रीज्यूलाई हामीले न्याय माग गरेका छौं । दोषीमाथि कारबाही हुन्छ भनेर उहाँले आश्वस्त पार्नुभएको छ । प्रधानमन्त्रीलाई पनि हामी यो विषयमा आग्रह गर्दै छौँ’ सांसद चौधरीले नयाँ पत्रिकासँग भनिन् । चौधरीले ज्यान लिने अभिप्रायले आफूमाथि अभद्र व्यवहार गरेको किटानीसहित दोषीमाथि कारबाही गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दिएकी छिन् ।
‘सांसद चौधरीज्यूले निवेदन दिनुभएको छ । त्यसमा हामी अनुसन्धान गर्छाैँ । अभियोग पुष्टि भएमा दोषीमाथि कारबाही गर्छौँ’ महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद पँगेनीले नयाँ पत्रिकासँग भने ।
चौधरीले आक्रमणमा संलग्न भएको भन्दै एकीकृत समाजवादी पार्टीका स्थानीय कार्यकर्ता विजय चौधरी, जितेन्द्र चौधरी, निरज चौधरीलगायतमाथि कारबाही गर्न माग गरेकी छन् ।