मेटलाइफ नेपालले डिजिटल माध्यमबाट बिमा अभिकर्ताहरू भर्ना गर्न मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन (मार्स) प्लेटफर्म सुरु गरेको छ । बिमा अभिकर्ताको छनोट तथा भर्नाका लागि ल्याइएको यस डिजिटल सोलुसनको उद्घाटन मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले गरेका हुन् ।
मार्समा इच्छुक बिमा अभिकर्ताले अनलाइन नयाँ खाता खोली, आवश्यक कागजातहरू अपलोड गरेर आफ्नो प्रोफाइल बनाउन सक्नुका साथै आफूलाई चाहिने अनिवार्य तालिम प्रशिक्षण लिन र इजाजतपत्रका लागि पनि अनलाइन नै आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । साथै, उम्मेद्वारले मार्समा उपलब्ध भएका एजेन्सी प्रबन्धकहरूको प्रोफाइल आफैँ विश्लेषण गरी आफूलाई मन परेको प्रबन्धक छनोट गर्न सक्ने सुविधा रहेको जनाइएको छ ।
कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक श्रेष्ठले यस अनलाइन सोलुसनले नेपालका विभिन्न स्थानबाट कम्पनीलाई नयाँ अभिकर्ताहरू भर्ना गराउन सक्षम पारी देशभरका धेरै ग्राहकहरूमाझ मेटलाइफलको बिमा सुरक्षाका फाइदाहरू पुर्याउन मद्दत गर्ने बताए ।