इपिएललाई स्वीकृति दिन दबाब

इपिएललाई स्वीकृति नदिए क्यानले आयोजना गर्ने सबै प्रतियोगिता बहिष्कार गर्ने फ्रेन्चाइज टोलीका लगानीकर्ताको चेतावनी

मंगलबार, १० जेठ, २०७९
डिजिटल संस्करण
इपिएललाई स्वीकृति दिन दबाब

एभरेस्ट प्रिमियर लिग (इपिएल)ले सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलन । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

एभरेस्ट प्रिमियर लिग (इपिएल)लाई निरन्तरता नदिए इपिएल फ्रेन्चाइज टोलीका लगानीकर्ताले नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहयोग नगर्ने चेतावनी दिएका छन् । गत साता क्यानले आफ्नै आयोजनामा नेपाल टी–२० लिग गर्ने घोषणा गरेको थियो । घोषणासँगै क्यानले यसबाहेक अन्य टी–२० फ्रेन्चाइज प्रतियोगितालाई मान्यता नदिने जनाएको थियो । यो घोषणाअघि नै इपिएलले आगामी कात्तिकमा पाँचौँ संस्करणको प्रतियोगिता आयोजना गर्ने जनाएको थियो ।

क्यानको निर्णयसँगै पाँचौँ संस्करणको इपिएल अन्योलमा परेको छ । इपिएलले आफ्नो तयारीसमेत सुरु गरिसकेको छ । क्यानको आयोजनामा हुने नेपाल टी–२० लिग भने असोज–कात्तिकमा हुनेछ । यो होम एन्ड अवे अवधारणामा एक महिनासम्म चल्नेछ । क्यानले इपिएल आयोजनाको स्वीकृति प्रदान नगरेपछि दबाब दिने उद्देश्यले फ्रेन्चाइज टोलीका मालिकहरूले सोमबार पत्रकार सम्मेलन गरी घुमाउरो शैलीमा क्यानले आयोजना गर्ने प्रतियोगितामा आर्थिक सहयोग नगर्ने चेतावनी दिएका छन् । 
‘निर्णयमाथि पुनरावलोकन नभए हामी क्यानले आयोजना गर्ने प्रतियोगितामा सहयोग गर्नेछैनौँ, उसका सबै प्रतियोगिता बहिष्कारसमेत गर्न बाध्य हुनेछौँ,’ इपिएलमा आबद्ध ६ मध्ये पाँच फ्रेन्चाइज टोलीका मालिकले संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ । इपिएल फ्रेन्चाइजमा काठमाडौँ किंग्स ११, ललितपुर प्याट्रियाट्स, विराटनगर वारियर्स, पोखरा राइनोज, चितवन टाइगर्स र भैरहवा वारियर्स छन् ।

 ‘५० करोड लगानी गरिसकेका छौँ’
क्रिकेटको सर्वोच्च निकाय क्यान आइसिसीको प्रतिबन्धमा रहँदा आफूहरूले क्रिकेट चलायमान र खेलाडीलाई व्यावसायिक बनाएको दाबी उनीहरूले गरेका छन् । ‘जुन वेला क्यान प्रतिबन्धमा थियो, त्यो वेला हामीले जोखिम उठाउँदै नेपालको क्रिकेटलाई उचाइमा पुर्याउने काम गर्यौँ, अहिले क्यानले हाम्रो लगानीमाथि खेलबाड गरेको छ,’ ललितपुर प्याट्रियट्सका मालिक किशोर महर्जनले भने, ‘यो अवधिमा हामीले इपिएलमा करिब ५० करोड लगानी गरिसकेका छौँ ।’

क्यान आफैँले आयोजना गर्ने प्रतियोगिताको हामी कहिल्यै विरोध गर्दैनौँ चार संस्करणसम्म आयोजना भएको इपिएल विश्व क्रिकेटमाझ स्थापित भइसकेको छ, यसले निरन्तरता पाउनुपर्छ

 इपिएलका सञ्चालक अमिर अख्तरले नेपालमा जति धेरै फ्रेन्चाइज लिग आयोजना हुन्छ, उति नै क्रिकेटको विकास हुने बताए । उनले नेपाल टी–२० लिगको विरोधी नभएको स्पष्टसमेत पारे । ‘क्यान आफैँले आयोजना गर्ने प्रतियोगिताको हामी कहिल्यै विरोध गर्दैनौँ,’ उनले भने, ‘हाम्रो माग यति मात्र हो, चार संस्करणसम्म आयोजना भएको इपिएल विश्व क्रिकेटमाझ स्थापित भइसकेको छ, यसले निरन्तरता पाउनुपर्छ भन्ने हो ।’ उनका अनुसार इपिएल विश्वकै पाँचौँ ठूलो फ्रेन्चाइज टी–२० लिगमा पर्छ । अख्तरले छलफलबाटै अहिले देखिएको समस्या समाधान हुने पक्षमा आशावादी रहेको पनि बताए । 

सन् २०१६ देखि इपिएल आयोजना हुँदै आएको छ । कुनै समय नेपालमा इपिएलसँगै धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग गरी तीनवटा फ्रेन्चाइज टी–२० प्रतियोगिता हुन्थे । यसमध्ये अहिले इपिएलको मात्रै निरन्तरता छ । ललितपुर प्याट्रियाट्सका महर्जनले क्यानको निर्णयबाट आफू पीडामा परेको बताए । ‘त्यसवेला हामीले राम्रो प्रतिफल हुन्छ भनेर क्रिकेटमा लगानी गरेका थिएनौँ, क्रिकेट मन पर्ने खेल भएकाले सहयोग मात्र गरेका थियौँ,’ महर्जनले भने, ‘यो पाँच–सात वर्षभित्र हामीले करोडौँ लगानी गरिसकेका छौँ, ठूलो उचाइमा पुर्याउने लक्ष्य थियो, क्यानका कारण धक्का लागेको छ ।’

इपिएलको साविक विजेता चितवन टाइगर्सका मालिक किशोर भट्टराईले नेपाली खेलकुदको न्यायका लागि पत्रकार सम्मेलन आयोजना गर्नुपरेको बताए । उनले नेतृत्व परिवर्तन भएसँगै रणनीतिसमेत परिवर्तन हुँदा असर परेको बताए । ‘मैले खेलकुदमा ३० वर्ष बिताए, यो अवधिमा हरेकपटक सरकार र खेलकुदमा नेतृत्व परिवर्तन हुँदा नीति नै परिवर्तन हुन्छ,’ भट्टराईले भने, ‘यसले गर्दा हामीजस्ता निजी क्षेत्र सोच्न बाध्य भएका छौँ ।’ 

‘खेलकुदमा किन लगानी गर्ने भन्ने प्रश्न उठेको छ’
क्यानले एकपटक पनि सरसल्लाह नगरी नेपाल टी–२० लिग घोषणा गरेको चितवन टाइगर्सका मालिक किशोर भट्टराईको भनाइ छ । ‘हामीसँग एकपटक सल्लाह पनि नगरी निर्णय गर्यो, जसका कारण निजी क्षेत्रले खेलकुदमा किन लगानी गर्ने भन्ने प्रश्न उठेको छ,’ भट्टराईले भने । उनले कर्पोरेट क्षेत्रबाट फ्रेन्चाइज क्रिकेटमा ठूलो लगानी गरिसकेकाले इपिएलकोे निरन्तरताको माग गरेका छन् । इपिएलले निरन्तरता नपाउँदा कर्पोरेट क्षेत्रको करोडौँ लगानी जोखिममा परेको उनको भनाइ छ । यसैगरी काठमाडौँ किग्स ११ का मालिक सञ्जय अग्रवालले क्यानले अन्तिम समयमा आएर अन्याय गरेको दाबी गरे । क्रिकेटलाई व्यावसायिक बनाउने अभियानमा क्यान नै बाधक बनेको उनले बताए । यसैगरी, पोखराका साहिल अग्रवालले पनि इपिएलले निरन्तरता पाउनुपर्ने बताए । 

See More On

सुझावित समाचार