सिन्धुपाल्चोकका नवनिर्वाचित २० जनप्रतिनिधि निर्माण व्यवसायी

आइतबार, ८ जेठ, २०७९
डिजिटल संस्करण

सिन्धुपाल्चोकमा नवनिर्वाचित २० जनप्रतिनिधि निर्माण व्यवसायमा आबद्ध रहेको पाइएको छ। निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष छत्रबहादुर तामाङले दिएको जानकारीअनुसार एक नगरप्रमुख, दुई गाउँपालिका प्रमुख, १५ वडाध्यक्ष र दुई वडासदस्यको निर्माणसँग सम्बन्धित ठेकेदार कम्पनी छन्।

मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङको केबी एन्ड स्याङ्बो निर्माण सेवा छ। लामो समयदेखि यो कम्पनी निर्माणको काममा तल्लीन छ। बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङको फुल्पिङडाँडा निर्माण सेवा कम्पनी पनि एक दशकदेखि ठेकेदारी पेसामा संलग्न छ। त्यसैगरी, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोको देव निर्माण सेवाले हाइड्रोपावर कम्पनीको काम गर्छ।

बलेफी गाउँपालिका वडा नं. ३ का अध्यक्ष रितेश तामाङ, जुगल– ३ का वडाध्यक्ष लक्ष्मण दोङ, जुगल– १ का वडाध्यक्ष जनक लामा र त्रिपुरासुन्दरी– २ का वडाध्यक्ष रमेश राउतको पनि आफ्नै कन्स्ट्रक्सन कम्पनी छ।

सबैभन्दा बढी चौतारा साँगाचोकगढी नगरपालिकाका वडाध्यक्षहरूको निर्माण व्यवसायी कम्पनी रहेको पाइएको छ। वडा नं. १३, ११, ५, ७ र २ का वडाध्यक्षहरू क्रमशः रामप्रसाद गौतम, रोशनराज गिरी, शिव श्रेष्ठ, डम्बरबहादुर तामाङ र सुदीप श्रेष्ठको आ–आफ्नै निर्माण कम्पनी छन्।

त्यसैगरी, मेलम्ची १० र १२ वडाका अध्यक्षद्वय अमृत खनाल र गणेश तामाङ, सुनकोसी– ७ का ईश्वर तिमल्सिना, बाह्रबिसे– २ का वडाध्यक्ष रेशमबहादुर तामाङ, बलेफी– १ का हुपबहादुर खड्का र पाँचपोखरी थांपाल– ६ का वडाध्यक्ष नारायण भट्टराईका पनि आफ्नै कम्पनी छन्। दुई वडासदस्य कोमलबहादुर श्रेष्ठ र राजीव लामाका पनि निर्माण कम्पनी छन्। ०७४ मा पनि सिन्धुपाल्चोकका धेरै जनप्रतिनिधि निर्माण व्यवसायी थिए।

सुझावित समाचार