चार सय ८० आरोही सगरमाथा चुचुरोमा

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण
चार सय ८० आरोही सगरमाथा चुचुरोमा

फाइल तस्बिर

यो सिजनमा अनुमति लिएका बाँकी आरोही पनि यसै साता शिखरमा पुगिसक्ने पर्यटन विभागको भनाइ

चालू वर्षको वसन्तकालीन सिजनमा शेर्पासहित चार सय ८० आरोहीले सगरमाथाको चुचुरो चुुमेका छन् । अधिकांश आरोही यसै हप्ताभित्र शिखरमा पुगिसक्ने पर्यटन विभाग पर्वतारोहण शाखाका अधिकृत भीष्मराज भट्टराईले बताए । नयाँ अनुमति लिने र छिटपुट आरोहीहरू ३१ मेसम्म सगरमाथा चढ्ने क्रम जारी रहनेछ ।

सगरमाथा आरोहणका लागि अहिलेसम्म नेपालसहित ५८ देशका तीन सय १७ आरोहीले अनुमति लिएका छन् । वसन्त ऋतुका लागि अझै आरोहणको अनुमति लिने क्रम जारी नै छ । विभिन्न मुलुकबाट आएका आरोहीलाई चुचुरोसम्म पुर्याउन शेर्पालगायत सहयोगी कर्मचारीहरू पनि शिखरसम्म पुग्ने गर्छन् ।

सन् २०२१ को वसन्त ऋतुमा सगरमाथा चढ्न विभिन्न देशका चार सय आठ आरोहीले अनुमति लिएका थिए, जसमध्ये एक सय ८३ आरोही र दुई सय ७६ सहयोगी कर्मचारी गरी चार सय ५९ सगरमाथा चुचुरोमा पुगेको विभागका अधिकृत भट्टराईले बताए । विभागका अनुसार आरोहणका सहयोगी दलले विभागबाट अनुमति लिनुपर्दैन । यस वर्ष हिमाल आरोहणका लागि मौसमले पनि साथ दिएको उनको भनाइ छ ।

विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पासहित ११ जनाको टोलीले ७ मे (२४ वैशाख)को साँझ चुचुरोसम्म डोरी टाँगेर बाटो बनाएपछि यस सिजनको विधिवत् सगरमाथा आरोहण सुरु भएको थियो । कामिरिता शेर्पाले आफ्नो यसअघिको रेकर्ड तोड्दै २६औँपटक सगरमाथा चढेका छन् । यही सिजनमा लाक्पा शेर्पाले १०औँपटक सगरमाथा चढ्ने पहिलो महिलाको कीर्तिमानी बनाएकी छिन् । 

गायक राजु लामासाहित २७ जनाको टोली सोमबार बिहान ६:४० बजे सगरमाथाको चुचुरोमा पुगेका थिए । यस्तै, अश्वेत अल्पसंख्यक समुदायबाट ‘अल ब्ल्याक अमेरिकन’ टोली चुचुरोमा पुगेर अश्वेत समुदायबाट सामूहिक रूपमा सगरमाथा आरोहण गर्ने कीर्तिमान बनाएका छन् । 

‘फुल सर्कल एभरेस्ट’ नाम दिइएको पूरै अश्वेतहरूको टोलीबाट १० जनाले अनुमति लिए पनि गत बिहीबार ६ जना मात्रै शिखरमा पुग्न सफल भएको सांग्रिला नेपाल ट्रेक प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेले बताए । 

यस सिजनमा सगरमाथा आरोहणका लागि ५८ देशका तीन सय १७ जनाले अनुमति लिएका छन्, जसमध्ये ७३ महिला छन् । सगरमाथा आरोहणका लागि अमेरिकाबाट ६५, बेलायतबाट ३४, रसियन फेडेरेसनबाट १७, नेपालबाट २१, भारतबाट २३, फ्रान्सबाट १३, चीनबाट १४, क्यानडाबाट १७, अस्ट्रेलिया र अस्ट्रियाबाट ११–११ जनाले अनुमति लिएका छन् । यीमध्ये धेरै चुचुरोमा पुगिसकेको र कतिपय विभिन्न शिविरबाट उकालो लागिरहेको पर्यटन विभागले जनाएको छ ।
 

See More On

सुझावित समाचार