पाँचदलीय गठबन्धनको उद्देश्य विकास र स्थिरता रोक्नु हो : अध्यक्ष ओली

मंगलबार, २७ बैशाख, २०७९
डिजिटल संस्करण
पाँचदलीय गठबन्धनको उद्देश्य विकास र स्थिरता रोक्नु हो : अध्यक्ष ओली

फाइल फाेटाे ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनको उद्देश्य विकास र स्थिरता रोक्नु रहेको आरोप लगाएका छन्। गृहनगर दमकमा भएको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले पाँचदलीय गठबन्धनले देशमा विकास गर्ने एमालेप्रति घेराबन्दी गरेको बताए।

एमालेसँग लड्न नसक्ने भएपछि गठबन्धन बनेको उनले जिकिर गरे। ‘पाँचदलीय गठबन्धनको केही उद्देश्य छैन। उनीहरूको उद्देश्य देशको विकास रोक्नु हो। सुशासन हुन नदिनु, स्थायित्व र स्थिरता देशमा हुन नदिनु हो,’ ओलीले भने, ‘समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन नदिने हो। यो सबै कुरा अघि बढाउने नेकपा एमाले हो। त्यसकारण सबै मिलेर एमालेलाई घेराबन्दी गरे। एमालेविरुद्ध मोर्चा बनाएर हामीलाई झम्टिरहेका छन्।’

अध्यक्ष ओलीले देशका लागि गठबन्धनले जित्न नहुने बताए। ‘कांग्रेसकाहरू दमकमा विशाल भ्युटावर बन्यो, त्यहाँ बिजनेस कम्प्लेक्स खुल्छ, त्यहाँ अस्पताल खुल्न सक्छ, त्यहाँ मेडिकल कलेज खुल्न सक्छ, व्यापारका कम्प्लेक्स खुल्न सक्छन् भनेर यो टावरसँग उनीहरू तर्सिएकाका छन्,’ उनले भने, ‘कांग्रेसले अहिले टावर बनाउँदैनौँ भनेर प्रतिबद्धता जनाउनुपरेको छ। टावर नबनाउने रे ! नेपाली कांग्रेसले के चाहिँ बनायो र के बनाउने भन्छ ?’

सुझावित समाचार