पहिलो दिन सुवासको अग्रता

मंगलबार, २७ बैशाख, २०७९
डिजिटल संस्करण

एमेच्योर खेलाडी सुवास तामाङले सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन एक स्ट्रोकको अग्रता लिएका छन् । उनले शुक्रबहादुर राईमाथि एक स्ट्रोकको अग्रता लिएका हुन् ।गोकर्ण गल्फ कोर्समा जारी सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गतको छैटाैँ इभेन्टमा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका दोहोरो स्वर्ण विजेता सुवासले सोमबार आठ अन्डर ६४ को स्कोर गरेका थिए । प्रोफेसनल खेलाडी शुक्रबहादुरले सात अन्डर ६५ को स्कोर गरेका थिए । हालै मात्र शुक्रबहादुरले भारतको विभिन्न राज्यमा सञ्चालन भएका ६ वटा गल्फ प्रतियोगितामा सहभागिता जनाएका थिए । 

यसैगरी एमेच्योर खेलाडी टासी छिरिङ र प्रोफेसनल खेलाडी रवि खड्का संयुक्त रूपमा तेस्रो स्थानमा छन् । टासी र रविले पाँच अन्डर ६५ को स्कोर गरे । नेपालका नम्बर एक गल्फर भुवन नगरकोटी, दिनेश प्रजापति तथा एमेच्योर खेलाडी सदभव आचार्य संयुक्त रूपमा पाँचौँ स्थानमा छन् । यी सबै खेलाडीले चार अन्डर ६८ स्कोर गरे । 

तीनजना प्राफेसनल खेलाडी कमल तामाङ, रमेश अधिकारी तथा तीर्थ पौडेल दुई अन्डर ७० स्कोरका साथ आठौँ स्थानमा छन् । धनबहादुर थापा एक अन्डर ७१ स्कोरका साथ नवौँ स्थानमा रहे । एमेच्योर खेलाडी वान्चेन धोन्डुप तथा सुरेश तामाङ १२औँ स्थानमा रहँदा इभन पार खेल्दै ७२ स्कोर गरे । शीर्ष स्थानमा रहेका सुवासले फ्रन्ट नाइनमा पाँच अन्डर ३१ स्कोर गरेका थिए । उनले ब्याक नाइनमा तीन अन्डर ३३ को स्कोर गरे । सुरुवाती क्रममै लगातार तीन बर्डिज प्राप्त गरेका सुवासले पाँचौँ होलमा एंगल भेट्टाए । उनले १०औँ, १५औँ र १७औँ होलमा बर्डिज निकाल्न सफल भए ।

यसैगरी दोस्रो स्थानमा रहेका शुक्रबहादुरले फ्रन्ट नाइनमा तीन अन्डर ३३ र ब्याक नाइनमा चार अन्डर ३२ को स्कोर गरे । उनले फ्रन्ट नाइनको तेस्रो, पाँचौँ र सातौँ होलमा बर्डिज निकाले । त्यसपछि १०औँ र १३औँ होलमा बोगी सामना गरे । शुक्रबहादुरले १२औँ, १४औैँ, १७औँ, १८औँ होलमा बर्डिज प्राप्त गर्न सफल भए । उनले ११औँ होलमा एंगलको सामना गरे । 

एमेच्योर टासीले बोगी फ्री राउन्ड खेल्ने क्रममा फ्रन्ट नाइनमा तीन–अन्डर ३३ को स्कोर गरेका थिए । यसैगरी उनले ब्याक नाइनमा दुई–अन्डर ३४ स्कोर गरेका थिए । रवि खड्काले फ्रन्ट नाइनमा इभन पार खेल्दै ३६ स्कोर गरेका थिए । उनले ब्याक नाइनमा पाँच–अन्डर ३१ खेलेका थिए । रविनले चौथो, पाँचौँ र आठौँ होलमा बर्डिज खेले ।

प्रतियोगितामा ४४ गल्फरले प्रतिस्पर्धा गरिरहेका छन्, जसमा ३२ प्रोफेसनल तथा १२ एमेच्यार खेलाडी छन् । प्रतियोगिताको विजेताले एक लाख ३५ हजार रुपैयाँ, उपविजेताले ८८ हजार तथा तेस्रो स्थानमा रहने खेलाडीले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

सुझावित समाचार