स्थानीय तह निर्वाचनले हरेक नेपालीलाई छोएको छ । राजनीतिक दल र तिनका उम्मेदवारहरू आफ्नो प्रचार प्रसार गर्न टोल–टोल छिरेका छन् । जताततै नाराजुलुस भइरहेको छ, तर नेपालगन्ज उपमहानगरपालिका–२१ तेलियनपुरकी २७ वर्षीया धनसरा रोकायलाई चुनावी अभियानले छुन सकेको छैन । नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको डम्पिङ साइटमा फालेको फोहोरबाट प्लास्टिकको झोला, सिसा, फलाम, कागज र प्लास्टिकका बोतल छुट्याउने काममा खटिएकी उनले आफूलाई निर्वाचनभन्दा काम प्यारो भएको बताइन् ।
उनी गाउँका साथीहरूसँग बिहान ७ बजे डम्पिङ साइट पुग्छिन् । हातमा पन्जा लगाउँछिन् । नेपालगन्जको विभिन्न ठाउँबाट संकलन भएको फोहोर ट्र्याक्टरले डम्पिङ साइटमा फालेपछि उनी सड्ने र नसड्ने वस्तु अलग गर्न थाल्छिन् । ‘हामीले फोहोर होइन, पैसा केलाएका हौँ । यो फोहोर होइन, मोहर हो,’ उनले भनिन् ।
नेपालगन्ज उपमहानगरपालिका–२३ लुहारनपुर्वाकी ५२ वर्षीया कौशिला केसी पनि फोहोर केलाएर मोहर कमाउँछिन् । उनले रुपैयाँका लागि गन्ध सहेर काम गर्नुपरेको बाध्यता सुनाइन् । यसरी पैसा कमाउने हाम्रो रहर होइन, बाध्यता हो । चुनावका वेला रोजगारीको आश्वासन दिने नेताहरूले रोजगारी सिर्जना गरेको भए फोहोर केलाएर मोहर कमाउनुपर्ने थिएन,’ उनले भनिन् ।
आठ घन्टा कामबापत मजदुरले दैनिक पाँच सय रुपैयाँ ज्याला पाउँछन् । केलाउने फोहोर गनाएर बस्न नसकिने हुन्छ । तर, डम्पिङ साइटमा काम गर्ने मजदुरलाई फोहोर गनाउन छाडेको छ । ‘पहिले गन्ध सहन सकिँदैनथ्यो, अब त बानी परिसक्यो, मास्क नलगाए पनि केही फरक पर्दैन,’ दीपा ओलीले भनिन्, ‘डम्पिङ साइटमा फालेको फोहोरमा कहिलेकाहीँ कुहिएका कुकुर, बिरालो फेला पर्छन् । तरकारी, भात कुहिएर गनाउने हुन्छ । तैपनि के गर्ने, पैसाका लागि सहनैपर्छ ।’ उनले फोहोरले रोग लाग्न सक्ने भए पनि बाध्यताले फोहोर केलाउने काम गरेको बताइन् ।
आश्वासन मात्र बाँड्ने नेतासँग विश्वास छैन
नेताहरू चुनावका वेला मात्र गाउँमा आउने गरेको अर्की मजदुर सुनिता सेन ठकुरीको गुनासो छ । चुनावका वेला गाउँ आउने नेताहरूले मिठा आश्वासन बाँड्ने गरेकाले विश्वास लाग्न छाडेको उनको भनाइ छ । ‘चुनावका वेला आएका नेताले पालिकालाई स्विट्जरल्यान्ड बनाउने आश्वासन दिएर जान्छन् । जितेपछि फर्केर आउने त के भेट भएको वेला मुन्टो बटारेर हिँड्छन्,’ सुनिताले भनिन् ।
उनले गाउँमा रोजगारी सिर्जना गर्ने उम्मेदवारलाई भोट दिने स्पष्ट पारिन् । रोजगारी नभएकै कारण युवाहरू विदेश पलायन भएको बताउँदै आफूहरू पनि रोजगारी नपाएकै कारण फोहोरसँग पौठेजोरी खेल्न बाध्य भएको गुनासो गरिन् । ‘सडक, बिजुलीको व्यवस्था भइसक्यो, अब जसले रोजगारीको ग्यारेन्टी गर्छ, त्यसलाई हाम्रो भोट, नत्र कुनै पनि उम्मेदवारलाई हामीले भोट हाल्दैनौँ,’ उनले भनिन् ।