‘यो मैले कस्तो जित जिते कमरेड ? मैले जितेँ कि हारेँ ? अनेकन परिवर्तनका सपना देखाएर यिनीहरूलाई डार्याएर यहाँसम्म आएँ । अब यो परिवर्तन कसका लागि ? अब के होला ? परिवर्तन आउला–नआउला ? तर, हाम्रो बलिदानका लागि भए पनि यो क्रान्ति जारी राख्नुस् कमरेड, बिदा...,बिदा..., बिदा...,’ यही संवादसँगै सकिन्छ नाटक ‘खत’ ।
सिनामंगलस्थित पुरानो घर नाटकघरमा नाट्यकर्मी सुलक्षण भारतीको लेखक तथा निर्देशनमा ‘खत’ नाटक मञ्चन भइरहेको छ । दशवर्षे तत्कालीन ‘जनयुद्ध’को वरिपरि केन्द्रित छ, नाटक ‘खत’ । यो नाटकले नयाँ पुस्तालाई माओवादी युद्धकालीन कालखण्ड देखाउन खोजेको छ । परिवर्तनका लागि ‘जनयुद्ध’मा होमिएका योद्धाहरूको सपना र राजनीतिक नेतृत्वबाट पाएको चोट, धोका र विश्वासघात नाटकमा बुनिएको छ । समय फेरियो, व्यवस्था फेरियो, तर योद्धाहरूको अवस्था फेरिएको छैन । नाटकले सत्ता र शक्तिमा पुगेका ‘जनयुद्ध’का नेतृत्व र ‘जनयुद्ध’मा लागेकाहरूको योगदानलाई बिर्सँदै गएको देखाएको छ ।
हिजो शासकहरूले आफ्नो स्वार्थका लागि सर्वसाधारणलाई कसरी प्रयोग गरे भन्ने नाटकमा देख्न सकिन्छ । तत्कालीन युद्धमा गरिब तथा निर्दाेष जनताले पाएको दुःख, पीडा र संघर्षलाई नाटकले मूल विषय बनाएको छ । अन्तरजातीय विवाह गरेकै कारण दया र उनकी श्रीमती समाजबाट बहिष्करणमा पर्छन् । उनीहरूलाई गाउँबाट निकालिइन्छ । गाउँबाट निष्कासित उनीहरू जंगलमा सानो छाप्रो बनाएर जीवन निर्वाह गर्न बाध्य हुन्छन् ।
परिवार, समाजबाट टाढा भएका उनै दयादम्पतीको घरनजिकै तत्कालीन विद्रोही माओवादी लडाकुहरू परेड खेल्छन् । दयादम्पतीको घरमा ती लडाकुहरू नियमित खाना खान जान्छन् । उनीहरूले क्रान्तिकारी गफ गर्छन्, समाज परिवर्तनका ठुल्ठूला नारा सुनाउँछन् । देशमा भ्रष्टाचार अन्त्य गर्न, जनताको हक–अधिकारका लागि लड्न र सुशासन कायम गर्न विद्रोह गर्न हिँडेको गफ गर्छन् । उनीहरूले बुनेको समानता योजना सुनेर दयादम्पती मक्ख पर्छन् । सत्ता परिवर्तन भएपछि आफूहरूजस्ता समाजबाट बहिष्कृतले न्यायपूर्व बाँच्न पाउने आसमा दयादम्पतीले लडाकुलाई दैनिक खानपिनको व्यवस्था गर्छन् । दयादम्पती पनि एक दिन पुरानै घर फर्कने सपना देख्छन् । तर, दया र उनकी गर्भवती श्रीमती विद्रोही र सरकारी सेना दुवैको त्राससँग जुधिरहेका हुन्छन् ।
युद्ध चर्किँदै गएपछि विद्रोही र सेनाको त्रासकै कारण सुत्केरी श्रीमतीलाई छाडेर दया एक्लै हिँड्नुपरेको त्रासपूर्ण भावुक दृश्य नाटकमा छ । दयादम्पतीले भोगेको सकसपूर्ण र कहालीलाग्दो संकटले दर्शकलाई गम्भीर बनाउँछ । द्वन्द्वका समयमा दुवै पक्षबाट सर्वसाधारणले पाएको पीडा अनगिन्ती छन् । सेना र विद्रोहीको डर, त्रास, धम्कीले सयौँ मानिसले सास्ती व्यहोरेका छन् । त्यसवेलाको परिवेश र घटनालाई ‘खत’ले प्रश्न गरेको छ ।
नाटकमा हास्य र प्रेम पनि छ । जनवादी विवाह र दुई प्रेमिल जोडीको प्रेमले नाटकलाई निकै रोचक बनाएको छ । गरिब पुरूषसँग विवाह गरेकी महिला जो विवाह गरेकै रात सामूहिक बलात्कारमा पर्छिन् । नाटकको यो दृश्यले शासक कति क्रुर हुन्छ भन्ने प्रस्ट पार्छ । शासकको निरंकुशताको पराकाष्ठालाई ‘खत’मार्फत देखाउन खोजिएको छ ।
‘झुटा आशाहरूबीच हुर्केको एउटा आशाजस्तै हो यो नाटक । यो नाटकले अनन्तकालसम्म एउटा आशा बोकेर बाँच्नेछ’, नाटकका लेखक भन्छन्, ‘हो अझै पनि आशा छ त्यो अधुरो सपनाको । त्यही अधुरो सपना हो यो नाटक ।’ २५ वैशाखसम्म मञ्चन हुने नाटकमा अरुण पौडेल, आभास अधिकारी, जयराम ढकाल, रमेश बज्राचार्य, सन्देश कार्की, प्रकाश गुरागाईं, आदि योगी, सागर भट्टराई, श्रवण यादव, चर्चित ढुंगेल, प्रितमसागर शर्मा, निशा दाहाल, नुज महर्जन, उत्तम अधिकारी, रितेश कार्की, शिशिर गिरी, अर्नभ घिमिरे, राजकमल, सरिता भुजेललगायतको अभिनय छ ।