‘चर्को लोडसेडिङले उद्योगहरू गम्भीर संकटमा’

आइतबार, १८ बैशाख, २०७९
डिजिटल संस्करण

उद्योग वाणिज्य महासंघ भन्छ– प्राधिकरणले विनासूचना घण्टौँ विद्युत् आपूर्ति कटौती गर्दा उद्योगहरू गम्भीर संकटमा परे, तत्काल समस्या समाधान गरी विद्युत्को नियमित आपूर्ति होस्

औद्योगिक क्षेत्रमा गरिएको चर्को लोडसेडिङले उद्योगहरू गम्भीर संकटमा पर्न थालेका नेपाल उद्योग वाणिज्य महासंघले बताएको छ । मुलुकका प्रमुख औद्योगिक करिडोरहरूमा विनाकुनै सूचना दैनिक १२ देखि १६ घण्टासम्म विद्युत् कटौती गर्दा उद्योगहरू थला पर्ने अवस्थामै पुगेको महासंघले जनाएको छ । महासंघले अविलम्ब समस्या समाधान गरी नियमित विद्युत् आपूर्ति गर्न सरकारसँग मागसमेत गरेको छ । 

महासंघले शनिबार विज्ञप्ति जारी गर्दैै औद्योगिक क्षेत्रमा गरिएको लोडसेडिङले मुलुकको औद्योगिकीकरणको यात्रामै गम्भीर धक्का दिने चिन्ता बढाएको उल्लेख गरेको छ । ‘विनासूचना विद्युत् कटौती गर्दा उद्योगहरूमा ठूलो आर्थिक नोक्सानी, उत्पादकत्वमा प्रतिकूल असर पर्नुका साथै मुलुकको अर्थतन्त्रमै गम्भीर संकट आउनेतर्फ निजी क्षेत्र चिन्तित भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘चर्को लोडसेडिङले अब उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएकोतर्फ ध्यानाकर्षण गराउँदै अविलम्ब समस्या समाधानमा सहयोग गर्न आग्रहसहित सयौँ उद्योगहरूबाट महासंघमा अनुरोधपत्र आएका छन् ।’

लामो समय विद्युत् कटौती, ट्रिप्लिङ, लो भोल्टेजलगायतका समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, अपर्झट विद्युत् आपूर्ति बन्द हुँदा करोडौँ पर्ने मेसिनहरूमा क्षति पुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार कर्मचारीको तलब–ज्याला, उत्पादन कटौती हुँदा सामान डेलिभरी, उत्पादनका क्रममा रहेका कच्चा पदार्थ खेर जाने, बैंकको चर्को ब्याज र साँवा भुक्तानीलगायतमा गम्भीर समस्या पर्न गएकोतर्फ महासंघले ध्यानाकर्षण गराएको छ । ‘प्राधिकरणले जुनसुकै मूल्यमा पनि विद्युत् खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनी विगतमा पटक–पटक गरेको प्रतिबद्धताको महासंघ स्मरण गराउन चाहन्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘एकातर्फ प्राधिकरणले नै विद्युत् खपत बढाउन आग्रह गर्ने र अर्कोतर्फ विनासूचना घण्टौँ विद्युत् आपूर्ति अवरुद्ध पार्नुले थप चिन्ता प्रकट गरेको छ ।’

महासंघले उद्योग क्षेत्रमा गरिएको चर्को लोडसेडिङले उत्पादन घट्न गई निर्यातमा धक्का लाग्नुका साथै भुक्तानी सन्तुलन (बिओपी)को ऋणात्मक अवस्थालाई समेत अझ फराकिलो बनाउने बताएको छ । 

‘उत्पादन लागत निरन्तर बढिरहेको अहिलेको अवस्थामा पुनः चर्को लोडसेडिङको समस्याले मुलुकको निर्यातमा गम्भीर धक्का लाग्ने र यसले समग्रमा मुलुकको शोधनान्तर घाटालाई थप फराकिलो बनाउनेछ,’ महासंघले भनेको छ, ‘विद्युत्को नियमित आपूर्ति हुन नसक्ने हो भने आर्थिक वृद्धिको प्रक्षेपणमा धक्का लाग्ने, उद्योगहरूको प्रतिस्पर्धी क्षमता गुम्न गई समग्रमा निर्यात नै प्रभावित हुनेछ ।’ विद्युत् ऊर्जाको विकल्पमा जेनेरेटर प्लान्टबाट उद्योग सञ्चालन गर्दा उच्च लागत पर्ने र अहिले इन्धनको बढ्दो लागतका कारण त्यो असम्भव प्रायः छ र त्यसरी उत्पादन गरेका वस्तु आपूर्ति गर्दा बजारमा सिर्जना हुने मूल्यवृद्धिले आमजनजीवन थप कष्टकर हुने महासंघको विश्लेषण छ ।

महासंघले विद्यमान समस्याको तत्काल समाधानका लागि कूटनीतिक माध्यमबाट भारतसँग छलफल गरी नेपाललाई दिँदै आएको बिजुली नियमित आपूर्ति गर्नेतर्फ अविलम्ब पहल गर्न आग्रह गरेको छ । त्यस्तै, उद्योगहरूमा विद्युत् कटौती हुने तालिका सार्वजनिक गर्न र बिजुली दिन्छु भनेको समयमा निर्बाध विद्युत् आपूर्तिको सुनिश्चितता दिलाउन महासंघले माग गरेको छ । 

सुझावित समाचार