निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिब आठ हजार उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिब ८ हजारले फिर्ता लिएको जानकारी दिएका हुन्।
अहिले उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने काम भइरहेको उनले बताए। आयोगको निर्वाचन कार्यतालिकाअनुसार आज शनिबार अपराह्न ५ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।
प्रवक्ता पौडेलले भने, ‘उम्मेदवारी फिर्ता लिनेको संख्या करिब ८ हजार छ। एक लाख ५३ हजार उम्मेदवारी परेको थियो भने त्यसमा करिब ८ हजार जति उम्मेदवारले फिर्ता लिएका छन्। त्यसमा करिब एक लाख ४५ हजार उम्मेदवार कायम हुने देखिन्छ।’
शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको थियो। स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते सम्पन्न हुँदै छ।