नेपाली कांग्रेसकी महासमिति सदस्य सूर्यदेवी मल्ल दुई दशक बढी समयदेखि सक्रिय राजनीतिमा छिन्। तर, उनलाई पार्टीले हालसम्म कुनै पनि चुनावमा प्रमुख पदमा टिकट दिएको छैन। जिल्लाका महिला नेतृहरूलाई पार्टीका झन्डा र ब्यानर बोकाएर नारा जुलुसमा हिँडाउनेभन्दा बढी अवसर नेतृत्वले नदिएको उनको गुनासो छ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि छायानाथ रारा नगरपालिकाको मेयर पदमा कांग्रेस जिल्ला संसदीय समितिले कर्णाली प्रदेश संसदीय समितिमा जिल्लाबाट १२ जनाको नाम सिफारिस गर्यो। १२ मध्ये एक महिला मात्रै सिफारिस भए पनि अन्तमा प्रदेश समितिले उनलाई टिकट दिएन। १२–१५ वर्षको कलिलो उमेरबाटै पार्टीको लागि संघर्ष गर्दै आएको उनी बताउँछिन्। २०७४ को स्थानीय तह निर्वाचनमा उनले छायानाथ राराको मेयरको आकांक्षा राखे पनि उनलाई पार्टीले मेयरका लागि सिफारिस गरेन। ०७४ मा उनी कर्णाली प्रदेश सभा सदस्य निर्वाचनमा पराजित भएकी थिइन्। दुई दशक बढी राजनीतिमा सक्रिय हुँदा पनि पार्टीबाट आवश्यक मूल्यांकन हुन नसकेको उनी बताउँछिन्।
छायानाथ रारा नगरपालिकाको उपमेयरमा कांग्रेसबाट ऐश्वर्य मल्ल र एमालेबाट टोमा लामाको उम्मेदवारी परेको छ। नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गरी प्रमुख र उपप्रमुख पदमा पुरुष उम्मेदवार उठाएका छन्।
यता, खत्याड गाउँपालिकामा नेकपा (एमाले)की नेतृ कविता गिरिले पनि अध्यक्ष पदमा चुनाव लड्ने चाहाना राखेकी थिइन्। तर, पार्टीले उनलाई उपाध्यक्षमै सीमित राख्यो। अध्यक्षमा पार्टीले नस्विकारेपछि उनले उपाध्यक्षमै चित्त बुझाउनुपर्यो।
उता, सोरु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा पुरुषको मात्रै उम्मेदवारी दर्ता भएको छ। उक्त गाउँपालिकामा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावी तालमेलका कारण तीनै पार्टीमा महिला उम्मेदवार चुनाव लड्नबाट वन्चित भएका छन्। मुगुम कार्मारोङ गाउँपालिकामा पनि महिला नेतृ उपप्रमुखमै सीमित भएका छन्।
४५ वडाका अध्यक्षमा तीन महिला मात्र उम्मेदवार
एक नगरपालिका, तीन गाउँपालिका र ४५ वडा रहेको मुगुमा जिल्लाकै ठूलो दल नेपाली कांग्रेसले वडाध्यक्षमा एकजना महिलालाई पनि उम्मेदवार बनाएको छैन। जिल्लाभरिमै ठूला दलबाट तीन महिलाले मात्रै वडाध्यक्ष पदमा उम्मेदवारी पाएका छन्। राप्रपा र जसपाबाट एक-एक महिलाको उम्मेदवारी परेको छ।
एकीकृत समाजवादीले छायानाथ रारा–११ मा कुन्जमा कुमाईलाई, एमालेले मुगम कार्मारोङ–९ मा छोटेल लामालाई र माओवादी केन्द्रले सोरु–३ मा मनकला रोकायालाई वडाध्यक्षको उम्मेदवार बनाएको छ।
सोरु गाउँपालिका–१० की कमला थापा आचार्यको नाम भएको वडाध्यक्षको टिकट रातारात परिवर्तन गरिएको उनका आफन्त बताउँछन्। मनोनयन दर्ता गर्न पालिका केन्द्र पुगेपछि अन्तिम समयमा टिकट अर्कैलाई दिएपछि उनले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन्। वडाध्यक्षमा सिफारिस भए पनि कांग्रेसले टिकट नदिएपछि सोरु–६ की हिरादेवी भट्टले पनि वडाध्यक्षका लागि स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएकी छिन्।
राज्यले दिएको ३३ प्रतिशत आरक्षित कोटासमेत मुगुमा कुनै पार्टीबाट पूरा हुन नसकेको कांग्रेस महासमिति सदस्य सूर्यदेवी मल्ल बताउँछिन्। प्रत्येक पार्टीबाट अरक्षीत कोटा मात्रै १४ वडाध्यक्ष महिलाको भागमा हुनुपर्नेमा एउटा पनि नपाइएको उनले बताइन्। स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिला उम्मेदवारको न्यून उपस्थितिले महिलाप्रति राजनीतिक दलले गरेको विभेदलाई देखाउने महिला अधिकारकर्मी र नेतृहरूको बुझाइ छ।