अर्थमन्त्री जनार्दन शर्माले हुलाक सेवालाई आधुनिकीकरण गर्ने गरी कार्ययोजना ल्याउन निर्देशन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको बजेटपूर्वको छलफलमा अर्थमन्त्रीले हुलाक सेवालाई आधुनिक बनाउने योजना ल्याउन र आगामी बजेटमै समावेश गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । ‘हाम्रो हुलाक सेवालाई आधुनिकीकरण गरौँ । निजी क्षेत्रले कति प्रगति गरिसके, हामीचाहिँ पुरानै शैलीमा बसेर हुँदैन,’ उनले भने, ‘आगामी बजेटमै राख्ने गरी योजना लिएर आउनुहोस् ।’
बैठकमा सञ्चार मन्त्रालयले नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने विषयबारे प्रस्तुतीकरण दिएको थियो । सञ्चार सचिव अर्यालले पनि प्रस्तुतीकरण गर्दै हुलाक सेवा परम्परागत शैलीले चलेको भन्दै सुधारको खाँचो रहेको बताए । सञ्चार मन्त्रालयले हुलाक कार्यालयहरूलाई इ–कमर्स प्लेटफर्ममा पनि प्रयोग गर्नुपर्ने प्रस्ताव गरेको छ । दोलखामा फिल्म सिटी निर्माण गर्नुपर्ने सञ्चारको प्रस्तावमा अर्थमन्त्री शर्माले उपयुक्त साझेदार खोजेर कार्यक्रम र बजेट ल्याउन सुझाव दिए ।
सञ्चार मन्त्रालयले सबै सरकारी निकायले विज्ञापनको भुक्तानी गर्दा ३ प्रतिशत रकम अनिवार्य रूपले कट्टा गर्ने र यसरी कट्टा गरेको रकम विज्ञापन बोर्डको कोषको दाखिला गर्ने व्यवस्था लागू गर्न पनि प्रस्ताव गरेको छ । ‘सबै कार्यालयहरूबाट यसरी विज्ञापनबापत भुक्तानी हुने रकमको ३ प्रतिशत कट्टा गरी विज्ञापन बोर्डको कोषमा दाखिला गर्ने व्यवस्था हुने हो भने लोककल्याणकारी विज्ञापनको बजेट विनियोजनमा चाप पर्दैन,’ सञ्चार सचिव वैकुण्ठ अर्यालले भने ।