सत्तारूढ गठबन्धनले पाँचदलीय गठबन्धनको निर्णयअनुसार मनोननय दर्ता गर्न निर्देशन दिएको छ। सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णयअनुसार गर्न नेता–कार्यकर्ताहरूलाई निर्देशन दिएको हो।
बैठकले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउनका लागि आ–आफ्नो दलको संयन्त्रमार्फत निर्देशन दिने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। उनले देशैभरि पाँच दलको एउटै उम्मेवार हुने बताए।
‘समग्र मिटिङमा पाँच दलको भावना र मर्मअनुसार अगाडि बढ्ने र कहीँ आन्तरिक असमझदारीहरू छन् भने तिनीहरूलाई समझदारीमा परिणत गर्ने र जनमतलाई ध्यानमा राखेर आफ्ना गतिविधिहरूलाई अगाडि बढाएर जाने निर्णय भएको छ,’ उनले भने।
मन्त्री कार्कीले गठबन्धनको निर्णयविपरीत उम्मेदवारी दर्ता गराउनेहरूलाई पनि सहमतिमा ल्याउने बताए। सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले उम्मेदवार छनाेटको सम्बन्धमा नेपाली कांग्रेसभित्र कुनै समस्या नभएको बताए।