निर्वाचन आयोगले काठमाडौं उपत्यकाका जिल्लाहरूमा उम्मेदवारको टुंगो लागेपछि मतपत्र डिजाइन गर्ने र छाप्ने तयारी गरेकोमा एमालेले असन्तुष्टि जनाएको छ । एमालेले यस्तो निर्णयले गठबन्धनलाई फाइदा पुग्ने आंशका गरेको छ ।
केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले आइतबार विज्ञप्ति प्रकाशित गरी डिजाइन परिवर्तन गर्ने भन्ने पछिल्लो समाचारका विषयमा आपत्ति जनाएका हुन् । ‘उम्मेदवारी परेको उम्मेदवारबाहेक अन्य उम्मेदवारको निर्वाचन चिह्न हटाई मतपत्र छपाइ हुने भनी केही अनलाइन मिडियामा प्रकाशित समाचारप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । केही दिनअघि गठबन्धन दलका केही शीर्ष नेताहरूको अभिव्यक्ति यस समाचारसँग मिल्दोजुल्दो देखिन्छ,’ विज्ञप्तिमा छ, ‘अनलाइनहरूले आयोगको सूत्रका अनुसार भनी प्रकाशित गरेको यो समाचार यदि सही हो भने अन्य पालिकाको भन्दा भिन्न प्रकृतिको यस्तो मतपत्र सरासर गठबन्धनका दलहरूलाई मात्र फाइदा पुग्ने आशयप्रेरित छ ।’
एमालेले निर्वाचन सुरु भइसकेपछि निर्वाचनको नियम परिवर्तन हुन नसक्ने जनाएको छ । ‘हामी निर्वाचन सुरु भइसकेपछि निर्वाचनको नियम परिवर्तन गर्नुहुँदैन र मतपत्रको डिजाइन परिवर्तन गर्नेजस्ता काम निर्वाचन आयोगबाट हुनेछैन भन्नेमा विश्वस्त छौँ,’ विज्ञप्तिमा छ, ‘यद्यपि, प्रकाशित समाचारहरूले आमजनतामा गम्भीर प्रश्न उत्पन्न भएको हुँदा यसप्रति आयोगको ध्यानाकर्षण गर्दछौँ ।’