जिल्लाका चार स्थानीय तहमा पहिलो दिन सत्तागठबन्धनका दलहरू तथा प्रतिपक्षी नेकपा एमालेले कुनै पनि उम्मेदवारको मनोनयन दर्ता गराएका छैनन् ।
छायानाथ-रारा नगरपालिकाको मेयरमा जसपाका राजबहादुर भामले मनोनयन दर्ता गराएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जसपाका भामले नगर प्रमुखमा पहिलो दिन मनोनयन दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय मुगुका सूचना अधिकारी धनकृष्ण बढुवालले जानकारी दिए ।
त्यस्तै छायानाथ रारा नगरपालिका वडानं १ को वडाध्यक्षको लागि स्वतन्त्रबाट गेहेन्द्रशमशेर मल्लले मनोनयन दर्ता गराएका छन् । आजै मनोनयन दर्ता गर्नेमा मुगुम कार्मारोङ गाउँपालिका–९ बाट वडाध्यक्षको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका हिराकला बुढाले मनोनयन दर्ता गराएको बढुवालले जानकारी दिए ।
निर्वाचन कार्यालयको कार्यतालिकाअनुसार वैशाख ११ र १२ गते दलहरूले मनोनयन दर्ता गर्ने मिति तोकिए पनि यहाँका सत्तागठबन्धनका दलहरू र प्रतिपक्ष नेकपा एमालेले पहिलो दिन जिल्लाको चारवटै स्थानीय तहको लागि कुनै पनि उम्मेदवार मनोनयन गराएका छैनन् ।
सत्तागठबन्धनका दलहरूको पालिका, वडाहरूमा भागबन्डा नमिल्दा मनोनयन दर्ता नगराएका हुन् । एमालेले केन्द्रीय निर्देशनअनुसार वैशाख १२ गते दिउँसो १ बजे मनोनयन दर्ता गर्ने एमाले मुगुका नेता डबल रोकायाले बताए । रोकायाका अनुसार एमालेले सत्तागठबन्धनका दलहरूको उम्मेदवारी तय भएपछि आफ्नो वडादेखि पालिकासम्म उम्मेदवारहरूको मनोनयन एकैसाथ गर्ने बताएको छ ।