सुर्खेतमा कांग्रेस संस्थापनइतरको छुट्टै भेला, ४० प्रतिशत नदिए असहयोग गर्ने चेतावनी

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मनोनयन दर्ताकै दिन  नेपाली कांग्रेस सुर्खेतमा संस्थापनइतर पक्षले छुटै भेला आयोजना गरेको छ। शेखर कोइराला समूहनिकटको भेलाले जिल्लामा रहेका वडा तहदेखि पालिकासम्म आफूहरूलाई सम्मानजनक ४० प्रतिशत उम्मेदवार नदिए कुनै पनि पद नलिने निष्कर्ष निकालेको छ।

कांग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीको नेतृत्वमा भएको भेलाले संस्थापन पक्षले एकलौटी गर्न खोजेको भन्दै त्यसको खबरदारी गर्ने निर्णय गरेको हो। संस्थापनइतर पक्षलाई पेलेर जाने, बेवास्ता गर्ने प्रवृत्ति बढेको भन्दै यसले पार्टीभित्रका इमानदार नेता, कार्यकर्ता मर्कामा परेको समूहको निष्कर्ष छ।

कार्यक्रमलाई सम्बोधन गर्दै निर्वतमान सभापति रेग्मीले निर्वाचनमा कांग्रेसलाई विजय गराउन लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै ९ पालिका रहेको सुर्खेतमा आफ्नो नेतृत्वमा ६ पालिकामा जिताउन सफल भएको बताए। ‘जीवन नै पार्टीमा लगाएकालाई पाखा लगाएर गुट, नातावाद, कृपावाद र आफन्तलाई पार्टीले अगाडि बढाएकोप्रति भेलाले आपत्ति जनाएको छ,’ उनले भने, ‘हामीले विगतमा पार्टीलाई जिताउन भूमिका खेल्यौँ । तर, अहिले हामीलाई बेवास्ता गरिएको छ।’ जिल्लामा रहेका वडा तहदेखि पालिकासम्म आफूहरूलाई सम्मानजनक ४० प्रतिशत उम्मेदवारी नहुँदासम्म कुनै पनि पद नलिने उनले बताए।

सुर्खेतका निर्वतमान सचिव भूपेन्द्र केसीले पार्टी नेतृत्वले संस्थापनइतर पक्षलाई पनि समेट्नुपर्नेमा त्यसो गर्न नसकेको आरोप लगाए। ‘पार्टीभित्र इतर पक्षलाई मिलाउनुको सट्टा सिद्धान्त नमिल्नेलाई साथमा लिन खोज्ने प्रवृत्तिले कांग्रेस कमजोर बनेको छ,’ उनले भने, ‘हामीले यसको विषयमा ठोस निर्णय लिन्छौँ।’
 

सुझावित समाचार