क्यान इन्फोटेकमा युवा पुस्ताको आकर्षण

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण

काठमाडौंको भृकुटीमण्डपमा आयोजित क्यान इन्फोटेकमा अवलोकनकर्ताको भिड लागेको छ । बिदाको दिन भएर पनि शनिबार सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत कर्मचारी तथा विद्यार्थीको भिड रहेको आयोजकले जनाएको छ ।

कोरोना महामारीका कारण इन्फोटेक यसअघि दुईपटक स्थगित भएको थियो । कोरोना महामारीपछि सुरु भएको इन्फोटेकमा आफूलाई उपयोगी हुने धेरै स्टलहरू रहेको र सूचना प्रविधिबारे नेपालमा उपलब्ध पछिल्ला प्रविधिहरूमा जानकारी लिएको अवलोकनकर्ताको भनाइ थियो ।

कोभिड–१९ महामारीका कारण बढेको सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई व्यवस्थित र थप प्रभावकारी बनाउने ज्ञान र दक्षताको खोजीमा अवलोकनर्ता रहेको र आइसिटी एक्सेसेरिजमा भन्दा ब्रान्डिङ, फिन्टेक र स्टार्टअपमा दर्शकको भिड लागेको आयोजक कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)का अध्यक्ष नवराज कुँवरले बताए । उनका अनुसार रोबोटिक, इमर्जिङ टेक्नोलोजी, वाइफाई तथा इन्टरनेटलगायत प्रडक्टहरूमा पनि अवलोकनकर्ताको उल्लेख्य भिड देखिन्छ ।

यस्तै, सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोलुसन, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, सेक्युरेटी सोलुसन, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, एन्टिभाइरस र बैंकिङ सोलुसनसम्बन्धी सफ्टवेयरका स्टलमा पनि अवलोकनकर्ताको भिड छ । 

शनिबार नै डिसहोमले नयाँ प्रडक्ट ‘क्याम्पस वाइफाई’ सार्वजनिक गरेको छ भने रमाइलो गेमले ‘ब्रान्ड च्यालेन्ज’ प्रतियोगिता आयोजना गरेको थियो । वैशाख १२ गतेसम्म सञ्चालन हुने इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधिको प्रदर्शनीमा घुम्ती सूचना पहुँच केन्द्र पनि राखिएको छ । 

सुझावित समाचार