निर्वाचन सुरक्षामा निजी क्षेत्रका हेलिकोप्टर प्रयोग गर्ने गृहको तयारी

शुक्रबार, ९ बैशाख, २०७९
डिजिटल संस्करण

गृह मन्त्रालयले स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्था मिलाउन आवश्यक परे निजी क्षेत्रका हेलिकोप्टर पनि प्रयोग गर्ने भएको छ। सडक नपुगेका दुर्गम स्थानमा मतपत्र ढुवानी, मतदान क्षेत्रमा सुरक्षाको प्रबन्ध तथा मतपेटिकाको ओसारपसारमा हेलिकोप्टरको प्रयोग गर्ने तयारी सरकारको छ। 

त्यसको तयारी गर्न गृह मन्त्रालयमा शुक्रबार सरकारी अधिकारी र वायुसेवा सञ्चालक संघमा आबद्ध विभिन्न एयरलाइन्सका प्रतिनिधिहरूको बैठक बसेको हो। स्थानीय निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्न सबै प्रकारको सुरक्षाको चाँजोपाँजो मिलाउन आवश्यक परेमा हवाई सेवा पनि तत्काल उपलब्ध हुने गरी तैनाथ अवस्थामा राख्न बैठक बसिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए। 

बैठकले ‘स्थानीय तह निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउने प्रयोजनमा हेलिकोप्टर सेवालाई प्राथमिकताका आधारमा प्रयोग गर्ने’ निर्णय गरेको छ।

निर्वाचन सुरक्षामा निजी हेलिकोप्टर प्रयोग गर्दा पालो भने वायुसेवा सञ्चालक संघले मिलाएर त्यसको जानकारी गृह मन्त्रालयलाई गराउने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव पोखरेलले जानकारी दिए। 

बैठकमा श्री एयरलाइन्ससँग रहेको MI-17 हेलिकोप्टर निर्वाचन प्रयोजनमा प्रयोग गर्न कुनै पनि बखत आवश्यक पर्ने भन्दै मन्त्रालयलाई आवश्यक परेको बखत तुरुन्त सेवा उपलब्ध हुने गरी तैनाथ अवस्थामा राख्ने निर्णय भएको छ। 

गृहप्रवक्ता पोखरेलको अध्यक्षतामा भएको बैठकमा मन्त्रालयका उपसचिवद्वय गोमादेवी चेम्जोङ र वसन्त भट्टराई, नेपाली सेनाका महासेनानी सञ्जय देउजा, वायुसेवा सञ्चालक संघका कमलेशकुमार वर्मा र अल्टिच्युड एयर, श्री एयरलाइन्स, सिम्रिक एयर, हेली एभरेष्ट, फिस्टेल एयर, प्रभु हेलिकोप्टर, मनाङ एयर र एयर डाइनेस्टीका प्रतिनिधिको सहभागिता थियो।
 

सुझावित समाचार