केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय सातौँ कृषि गणना २०७८ सुरु गरेको छ। विभागले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन कृषि गणना सुरु गरेको जानकारी दिएको हो। विभागका अनुसार वैशाख ६ बाट सुरु गरिएको कृषि गणनाको तथ्यांक संकलन कार्य जेठ मसान्तसम्म हुनेछ।
कृषि गणना कार्य तीनै तहका सरकारलाई चाहिने कृषिसम्बन्धी तथ्यांक उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालन गरिएको कृषि तथा पशु गणना विभागका निर्देशक डा. महेशकुमार सुवेदीले बताए। उनले गत दुई वर्षयता कृषि गणनाको तयारी थालेको र वैशाख ६ गतेबाट कृषि गणना सुरु गरेको बताए।
निर्देशक सुवेदीले काठमाडौं, ललितपुर र भक्तपुरको हकमा शुक्रबारदेखि मात्रै गणना कार्य सुरु हुने जानकारी दिए। उनले कृषि गणनाको प्रारम्भिक नतिजा मंसिर अन्तिमसम्म आउने र असार मसान्तसम्म सम्पूर्ण संकलित फारमहरू केन्द्रमा ल्याइसक्ने बताए। अहिलेसम्म कृषि गणनाका लागि पाँच करोड खर्च भइसकेको र यस वर्ष गणनाको मुख्य समय भएकाले ७२ करोड खर्च हुने अनुमान गरिएको उनले बताए। त्यस्तै अर्को वर्ष डेटा इन्ट्री तथा प्रकाशनका लागि करिब ९ करोड गरी कुल ८६ करोड रुपैयाँ खर्च हुन सक्ने आकलन गरिएको छ।
वि.सं २०१८ सालदेखि हरेक १०-१० वर्षमा कृषि गणना गर्ने गरिन्छ। विगतका कृषि गणनाहरूमा जिल्लास्तरीय कृषि तथ्यांक मात्रै प्रकाशन गर्दै आएकोमा यसपटक ७५३ वटै गाउँपालिका-नगरपालिकासम्मको कृषि तथ्यांक संकलन हुनेछ।
वैज्ञानिक विधि प्रयोग गरी करिब ३ लाख ५० हजार कृषक परिवार छनोट गरेर कृषक परिवार प्रश्नावलीमार्फत कृषि तथा पशुपंक्षीपालनसम्बन्धी विस्तृत विवरण संकलन गर्ने लक्ष्य लिइएको छ। कृषि गणनाका लागि ५ हजार १५० गणक, १ हजार ३५० सुपरिवेक्षक तथा ७७ कृषि गणना अधिकृतहरूसहित ७ हजार २ सय कर्मचारी प्रत्यक्ष रूपमा स्थलगत कार्यमा परिचालित रहनेछन्।