एसियन कप छनोट : सकारात्मक नतिजाको आशामा खेलाडीहरू

शनिबार, ३ बैशाख, २०७९
डिजिटल संस्करण

नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतमा आयोजना हुने एएफसी एसियन कप छनोटमा सहभागिता जनाउँदै छ। आगामी जुनमा आयोजना हुने छनोटका लागि नेपाली टोलीले प्रशिक्षण सुरु गरिसकेका छन्।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले छनोट हुन सक्दैनौँ भने पनि खेलाडीले भने उत्कृष्ट प्रदर्शनको आशा राखेका छन्। एएफसी एसियन कप छनोट प्रतियोगिताको कठिन मानिएको समूहमा रहेको नेपालले जुन ८ देखि १४ सम्म कुवेतमा हुने प्रतियोगिताका लागि तयारी गरिरहेको छ। मुख्य प्रशिक्षकले नेपाल छनोट हुँदैन भन्दै सार्वजनिक अभिव्यक्ति दिए पनि नेपाली टोलीका उपकप्तान रोहित चन्दले छनोटमा उत्कृष्ट प्रदर्शन गर्नका लागि योजनाबद्ध तरिकाले तयारी गरिरहेको बताए।

नेपाल रहेको समूहमा आयोजक कुवेतसँगै नेपाल, इन्डोनेसिया र जोर्डन रहेका छन्। बलिया टोली भएकाले नेपालको छनोट सम्भावना न्यून रहेको छ। छनोटको सम्भावना कम भए पनि छनोटमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली टोली तयार रहेको सुजल श्रेष्ठले बताए। यस्तै विशाल राई, अनन्त तामाङ र विशाल श्रेष्ठले पनि अन्तिमसम्म पनि बलिया टोलीविरुद्ध नतिजाका लागि लड्ने प्रतिक्रिया दिएका छन्।

लामो समयसम्म चोटका कारण मैदानबाहिर रहेका नवयुग श्रेष्ठ पनि टोलीमा फर्किएका छन्। चोटलाई भुलेर राम्रो खेल्ने अवसर एएफसी एसियन कप छनोट प्रतियोगितामा भएको नवयुगले बताए।

छनोटबाट समूहको शीर्ष टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन्। यस्तै ५ समूहको उत्कृष्ट उपविजेताले पनि प्रतियोगितामा सहभागी हुने मौका पाउनेछन्।

सुझावित समाचार