नयाँ वर्ष ०७९ को पूर्वसन्ध्यामा धेरै कम्पनीले ग्राहक आकर्षित गर्ने योजना सार्वजनिक गरिसकेका छन् । तुलनात्मक रूपमा ठूलो कारोबार हुने नयाँ वर्ष, चाडपर्व र विशेष दिनलाई लक्षित गर्दै कम्पनीहरूले ग्राहक आकर्षित गर्ने उपहार, छुट, क्यासब्याकलगायत योजना ल्याउने गर्छन् । अटोमोबिल, बैंक, मोबाइल, इन्टरनेट, टेलिकमदेखि विद्युतीय ब्रान्डसम्मले नयाँ वर्षमा आकर्षक योजना ल्याएका छन् । छुट, क्यासब्याक, उपहारलगायत समेटिएका आकर्षक अफरहरूले ग्राहकको ध्यान खिच्न सकिने कम्पनीहरूको विश्वास छ । त्यसैले त नयाँ वर्ष र दसैँ–तिहारमा आकर्षक अफर ल्याउन प्रतिस्पर्धा नै चल्ने गर्छ । नयाँ वर्षको पूर्वसन्ध्यामा सार्वजनिक गरिएका आकर्षक योजनाहरू कम्पनी–ब्रान्ड हेरीकन वैशाख मसान्तसम्म कायम हुनेछन् । यो वर्ष केही कम्पनीले ल्याएका नयाँ वर्ष योजनाहरू ।
यामाहाको ‘मल्टिप्लाई योर ह्याप्पिनेस’
यामाहा मोटरसाइकल विक्रेता एमएडब्लू इन्टरप्राइजेजले ‘मल्टिप्लाई ह्याप्पिनेस बाई २०७९ गुणा १०००’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले यामाहाका मोटरसाइकल वा स्कुटर खरिद गर्दा स्योरसट २०७९ गुणा ४=८ हजार तीन सय १६ रुपैयाँदेखि २०७९ गुणा १००=२ लाख सात हजार नौ सय रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन् । त्यस्तै, बम्पर पुरस्कारमा एक भाग्यशाली ग्राहकले २०७९ गुणा १०००=२० लाख ७९ हजार रुपैयाँ जित्न सक्नेछन् ।
सुजुकीको ‘ह्याप्पी न्यु कार’
सुजुकी कारको नेपाली विक्रेता सिजी मोटोकर्पले ‘सुजुकी ह्याप्पी न्यु कार’ योजना ल्याएको छ । ग्राहकले दुई लाख रुपैयाँसम्मको नगद छुट, एक लाख २५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, एक वर्षको सवारी बिमा र स्क्र्याच कार्डमार्फत ७५ हजार रुपैयाँसम्मको अतिरिक्त छुट पाउने कम्पनीको योजना छ ।
एनसेलको छुट योजना
एनसेल आजियाटाले न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ । कम्बो प्याकअन्तर्गत सात दिन र २८ दिनको समयसीमा रहेको योजना ल्याएको हो । कम्पनीले फरक फरक मुल्यमा ल्यएको विभिन्न योजनामा डेटा, अल नेट टक टाइम, ननस्टप अन नेट कल सुविधा लगायतको योजना ल्याएको छ । रिचार्ज योजना अन्तर्गत हरेक रिचार्जमा सोसल मिडिया डेटा प्याक र सोसल प्याक को योजना ल्याएको छ । रिचार्जको मुल्य अनुसार प्राप्त हुने समयसिमा, डेटा प्याक र सोसल प्याक फरक पर्ने जनाइएको छ ।
हुन्डाईको योजना
लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘नयाँ वर्षको सुरुवात हुन्डाईको साथ’ भन्ने नारासहित चार लाख रुपैयाँसम्म छुट दिने योजना ल्याएको छ । योजनाअनुसार नयाँ वर्ष बोनस ७९ हजार रुपैयाँ, एक्सचेन्ज बोनस ७९ हजार रुपैयाँसम्म, मोडेल इयर डिस्काउन्ट ९९ हजार रुपैयाँसम्म, द्रुत मूल्यांकन र स्पट एक्सचेन्जमा एक वर्षका लागि निःशुल्क बिमा र सडक कर रहेको कम्पनीले जनाएको छ ।
सुबिसुको ‘शुभकामना अफर’
इन्टरनेट सेवाप्रदायक सुबिसुले ‘शुभकामना अफर’ ल्याएको छ । ग्राहकले अफरअन्तर्गत मासिक एक हजार सात सय ७० रुपैयाँमा प्रिमियम प्याकेजसहित चार डिजिटल टिभी र ६ सय ५० एमबिपिएस गतिको इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् । यसका लागि ग्राहकले एक वर्षको प्याकेज लिनुपर्ने बताइएको छ । वार्षिक प्याकेजको मूल्य भ्याटबाहेक २१ हजार दुई सय ३९ रुपैयाँ रहेको छ । प्याकेजमा डुअल ब्यान्ड ओएनयू (५ गिगाहर्ज), एक्टिभेसन चार्ज, एक्टिभेसनसहित एउटा क्लियर टिभी सेटटप बक्स र वायर समावेश गरिएको छ ।
टिसिएलको अफर
टिभी ब्रान्ड टिसिएलले ‘नयाँ वर्षको टिसिएलमय सुरुवात !’ नामक योजना ल्याएको छ । टिसिएलका होम इन्टरटेनमेन्ट र होम अप्लायन्स खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरू प्राप्त गर्न सकिनेछ । ग्राहकले टेलिभिजन खरिदमा ५९ हजार रुपैयाँसम्म, वासिङ मेसिन खरिदमा २७ हजार चार सय रुपैयाँ छुटका साथै ६ केजीको एरिअल वासिङ पाउडर पाउने योजना ल्याएको हो । त्यस्तै, रेफ्रिजेरेटर खरिदमा ३३ हजार चार सय रुपैयाँसम्म छुट र केन्टको ओजोन एयर प्युरिफायर, एयर कन्डिसनरको खरिदमा ५३ हजार सात सय रुपैयाँसम्म छुटका साथै चार हजार रुपैयाँबराबरको निःशुल्क एसी जडान सुविधा, वाटर डिस्पेन्सरको खरिदमा चार हजार नौ सय रुपैयाँ, चेस्ट फ्रिजरको खरिदमा १४ हजार आठ सय रुपैयाँसम्मको छुट पाइनेछ ।
भायानेटको नयाँ रिफरल योजना
इन्टरनेट सेवाप्रदायक भायानेटले नयाँ रिफरल योजना ल्याएको छ । यस योजनामा सहभागी हुने ग्राहकलाई तीन महिनाको इन्टरनेटसँगै एमआईको डुअल ब्यान्ड राउटर सित्तैमा प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट नि:शुल्क पाउनेछन् । ९० दिनभित्र कुनै पनि भायानेटका ग्राहकले तीनजना नयाँ ग्राहकलाई भायानेटको अल्ट्रा–फाई प्याक सफलतापूर्वक रिफर गरेमा एक महिनाका दरले तीन महिनाको इन्टरनेटसँगै एमआईको डुअल ब्यान्ड राउटर पनि सित्तैमा पाउन सक्नेछन् ।
दराजको ‘नयाँ रहर, नयाँ अफर’
अनलाइन बजार दराजले ‘नववर्ष–२०७९ नयाँ रहर, नयाँ अफर’ नामक योजना सुरु गरेको छ । यस अभियानमा ६० प्रतिशतसम्मको मेगा डिल, पाँच हजार रुपैयाँसम्मको विशेष छुट भौचरहरू, बैंक कार्ड, इसेवा र आइएमई पे वालेटबाट अनलाइन प्रि–पेमेन्टमा एक हजार पाँच सय रुपैयाँसम्मको छुट, एक रुपैयाँमै उत्कृष्ट पुरस्कार जित्ने मौका, निःशुल्क सपिङ र बम्पर उपहारका रूपमा याडिया एस–लाइक स्कुटर जित्ने मौका रहेको जनाइएको छ ।
निसानको किक्समा छुट
निसान गाडीको नेपाली विक्रेता पायोनियर मोटोकर्पले नयाँ वर्षमा निसान किक्स किन्दा तीन लाख ५० हजार रुपैयाँ नगद छुट दिएको छ । एक वर्षसम्मको इन्स्योरेन्स र सडक कर छुटसहित समग्रमा चार लाख ५२ हजार छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।
आइएमईले ६१ जनालाई नगद दिने
आइएमईले ‘आइएमई २०७९ मा २०७९’ नामक योजना ल्याएको छ । वैशाख ३१ सम्म चल्ने यो योजनामा विदेशबाट आइएमईमार्फत पठाइएको रकम नेपालभरि छरिएका एजेन्ट–सबएजेन्ट आउटलेटमार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा हरेक हप्ता १५ जना विजेता रहने जनाइएको छ । योजना अवधिमा ६० जना भाग्यशाली विजेताहरूले प्रतिव्यक्ति दुई हजार ७९ रुपैयाँ र बम्परमा एक भाग्यशाली विजेतालाई दुई लाख सात हजार नौ सय रुपैयाँ प्रदान गरिने जनाइएको छ ।
सेन्साईको योजना
नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सेन्साईले ‘नयाँ वर्ष, भाग्यको वर्षा’ नामक योजना ल्याएको छ । यस योजनाअन्तर्गत सेन्साई ब्रान्डका कुनै पनि सामान खरिदमा लक्की ड्रमार्फत एकजना भाग्यशाली ग्राहकले बम्पर उपहारमा यामाहा एफजी बाइक, दुईजना भाग्यशाली ग्राहकहरूले एप्पल म्याकबुक एयर ल्यापटप, तीनजना भाग्यशालीले एप्पल आइफोन १३ र पाँचजना भाग्यशालीले एप्पल आइप्याड जित्न सक्नेछन् । ग्राहकहरूले आफूलाई लक्की ड्रमा सहभागी गराउन सेन्साई टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखेर ३१००३ मा एसएमएस गर्नुपर्ने हुन्छ ।
केन्ट आरओको बिमा अफर
सिजी इलेक्ट्रोनिक्सले ‘स्वच्छ पानी, साथमा बिमा पनि, केन्ट आरओसँग ढुक्क छ जिन्दगानी’ भन्ने नारासहित केन्ट आरओका ग्राहकको बिमा गरिदिने योजना ल्याएको छ । यो योजना केन्टको कुनै पनि आरओ मोडल र केन्ट हेपा एयर प्युरिफायरको खरिदमा लागू हुने बताइएको छ । केन्ट खरिदकर्ताले तीन लाख रुपैयाँबराबरको दुर्घटना बिमा पाउनेछन् ।