संयुक्त राष्ट्रसंघको आह्वानमा कंगाेमा तैनाथ एक नेपाली सेनाको विद्रोहीको आक्रमणमा परेर निधन भएको छ। ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफ्फामा कार्यरत सुर्खेत गुर्माकोट– १४ घर भएका अनिल गुरुङको निधन भएको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए।
‘अप्रेसन बाली’ का क्रममा मंगलबार गुरुङ घाइते भएका थिए। प्रमुख सेनानी निकिल कुँवरको कमान्डमा सञ्चालन गरिएको खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि विद्रोहीबाट भएको फायरमा मिसनमा कार्यरत शान्ति सैनिक गुरुङ घाइते भएका थिए।
घाइते गुरुङलाई हेलिकाेप्टरमार्फत उद्धार गरी उपचारका लागि बुनियाँस्थित लेबल– २ अस्पतालमा भर्ना गरिएको थियो। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिवका सहायक प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली सैनिकप्रति श्रद्धाञ्जली तथा परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। शान्ति सैनिकमाथि गरिएको आक्रमणको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ।