नेपालले नीतिगत व्यवस्था गर्न नसकेको हाइड्रोजन उत्पादनका क्षेत्रलाई नयाँ ढंगले व्यवस्थित गर्न विज्ञहरूले सुझाव दिएका छन् । हिमालयन हाइड्रो एक्सपोमा सहभागी सरोकारवालाले नयाँ प्रविधि उपयोगितादेखि नीतिगत व्यवस्थापनको सुझाव दिएका हुन् । बेलायतको डिपार्टमेन्ट फर इन्टरनेसनल ट्रेडको नवीकरणीय ऊर्जाका वरिष्ठ सल्लाहकार मिलिन्द गोडबोले नेपालका जलविद्युत् प्रवद्र्धकहरूलाई आफैँ हाइड्रोजनको व्यावसायिक उत्पादनमा सक्रियता देखाउन आग्रह गरे ।
विश्वमा खनिज इन्धनबाट हाइड्रोजन उत्पादन भइरहे पनि नेपालमा विद्युत्को प्रयोगबाट उत्पादन गरेर व्यावसायिक निर्यातसमेत गर्न सकिने अवसर रहेको उनले बताए । ‘जलविद्युत् प्रवद्र्धकले हाइड्रोजन उत्पादनलाई विकल्पभन्दा पनि जलविद्युत् प्रणालीमै अन्तरआबद्ध गर्ने अवसर छ,’ उनले भने, ‘बर्सातमा बढी भएको बिजुली हाइड्रोजन बनाउन खपत गर्दा बहुआयामिक लाभ हुनेछ’ ।
नेपालमा धेरै सिमेन्ट उद्योग र स्टिल उद्योग भएकाले उनीहरूले हरित हाइड्रोजनको प्रतीक्षा गरिरहेको उनको भनाइ छ । जलविद्युत्मा नयाँ प्रविधिसम्बन्धी सत्रमा कार्यपत्र प्रस्तुत गर्दै जर्मन कम्पनी फिचन हाइड्रोपावरका वरिष्ठ अधिकारी निकोलस इप्थाइमोले हिमालयन क्षेत्रका जलविद्युत् आयोजनामा सेडिमेन्ट व्यवस्थापन भरपर्दो बनाउन चुस्त इन्जिनियरिङ र अवलोकनमा बढी ध्यान दिनुपर्ने सुझाव दिए । उनले भने, ‘सेडिमेन्ट व्यवस्थापन उचित हुन नसक्दा टर्बाइनको क्षमतासम्म प्रभावित हुन सक्छ । पिक इनर्जी उत्पादनमा असर गर्नेछ ।’
कार्यक्रममा स्ट्यान टेकका राष्ट्रिय व्यवस्थापक मनोज भट्टराईले जलविद्युुत् क्षेत्रका नयाँ प्रविधिबारे अवगत गराए । हरित हाइड्रोजनलाई नेपालमा बढी भएको बिजुली व्यवस्थापन गर्ने विकल्प बनाउनुपर्ने उनले बताए । उनले भने, ‘नेपालमा पम्प स्टोरेज पिक मात्र नभएर बेसलोड व्यवस्थापनमा पनि उपयोगी हुन सक्छ ।’ पछिल्लो अध्ययनअनुसार नेपालमा सौर्य ऊर्जाको सम्भाव्यता अझै राम्रो छ । यसलाई पम्पस्टोरेजमा प्रयोग गरेर पिकमा जलविद्युत् निकाल्न सकिन्छ ।
एसएमइसी (स्मेक)की निर्देशक नीता अरोराले नेपालमा दुई हजारभन्दा बढी पम्पस्टोरेज बनाउन सकिने बताइन् । भारतीय उद्योग परिसंघका ऊर्जा सुरक्षा प्रमुख भूपेन्द्रकुमार सिंहले दक्षिण एसियामा ऊर्जा साझेदारीको उच्च सम्भावना रहेको बताए । उनले नेपालमा विद्युत् उत्पादन सन्तुलनको अभाव र पूर्वाधारमा कमजोरी रहेको औँल्याए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय वित्त निगम आइएफसीका विज्ञ भीष्म पण्डितले सरकारको कूटनीतिक पहलमा नीतिगत तयारी तथा प्राविधिक चुस्तता नपुगेको बताए । नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेले प्राधिकरणले स्वेदशमै विद्युत् खपत विस्तार गर्ने योजना गरिरहेको जानकारी गराए । उनले भारतको खुला बजारमा पनि नेपाल नै पहिलो दक्षिण एसियाली मुलुकमा प्रवेश गरेको स्मरण गराउँदै आउँदो बर्सातमा आठ सय ५० मेगावाटसम्म निर्यात गर्ने अपेक्षामा रहेको बताए ।