नेपाल टेलिकमले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

बिहिबार, १७ चैत, २०७८
डिजिटल संस्करण

नेपाल टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका अल नेट भ्वाइस उपलब्ध गराउने भएको छ । कम्पनीले हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका अननेट भ्वाइस प्याक कायम राख्दै तिनमा थप सुविधासहित किफायती मूल्यमा विभिन्न प्रकारमा अल नेट भ्वाइस प्याक उपलब्ध गराउन लागेको हो । यसका साथै कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सियुजी प्याकहरूलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएको कम्पनीले जनाएको छ । 

नयाँ व्यवस्थाअनुसार जुनसुकै नेटवर्कमा पाँच सय मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक दुई सय ६५ रुपैयाँमा र एक हजार दुई सय मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक पाँच सय ५० रुपैयाँमा उपलब्ध गराइएको कम्पनीको भनाइ छ । यसैगरी, बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट डे भ्वाइस प्याक र राति १० बजेदेखि बिहान ७ बजेसम्म जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट नाइट प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । साथै, आवश्यकताअनुसार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२ रुपैयाँमा ३० मिनेट १५ रुपैयाँमा एक सय २० मिनेट जुनसुकै नेटवर्कमा कुराकानी गर्न सकिने जनाइएको छ । 

कम्पनीले उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याक थप आकर्षक बनाइएको कम्पनीले जनाएको छ । पाँच सय ९९ रुपैयाँमा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा दुई सय ५० मिनेट कुराकानी गर्न वा एक जिबी डेटा चलाउन सकिने सुविधा थप गरिएको छ ।

साथै, सात सय ९९ मा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा पाँच सय मिनेट कुराकानी गर्न सकिने र दुई सयवटा सन्देश पठाउन सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ । यो प्याकमा प्रतिदिन एक जिबी डेटासमेत चलाउन सकिने कम्पनीको भनाइ छ । नौ सय ९९ रुपैयाँको प्याकमा प्रतिदिन दुई जिबी डेटा तथा चार सय अल नेट सन्देश र एक हजार चार सय ९९ रुपैयाँको प्याकमा प्रतिदिन चार जिबी डेटा तथा एक हजार अल नेट सन्देश पठाउन सकिने सुविधा रहेको कम्पनीले जनाएको छ । 

यी दुवै प्याकमा कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अबदेखि अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने सुविधा उपलब्ध हुनेछ । वैशाख ४ सम्म खरिद गर्न सकिने यी प्याक पोस्टपेड मोबाइलमा ३० दिन र प्रिपेड मोबाइलमा २८ दिनका लागि उपलब्ध हुने उल्लेख छ । 
 

सुझावित समाचार