चार वर्षपछि औद्योगिक क्षेत्रमा ‘लोडसेडिङ’

प्रतियुनिट ३८ रुपैयाँमा पनि किन्न पाइएन विद्युत्

मंगलबार, १५ चैत, २०७८
डिजिटल संस्करण

महँगो मूल्यमा खरिद गर्न खोज्दासमेत भारतीय इनर्जी एक्सचेन्ज (आइइएक्स) बजारमा विद्युत् उपलब्ध नहुँदा नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा आपत्कालीन लोडसेडिङ सुरु गरेको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार प्राधिकरणले प्रतियुनिट २० रुपैयाँ भारु (भ्याट र अन्य शुल्कसहित ३८ रुपैयाँ) बोलकबोल गर्दासमेत विद्युत् प्राप्त गर्न सकेको छैन ।   

विद्युत् प्राप्त नभएपछि उद्योगहरूमा अधिकतम आठ घण्टासम्म विद्युत् कटौती भएको छ । यो आपत्कालीन लोडसेडिङ भएको र विद्युत् प्राप्त हुनेबित्तिकै उद्योगलाई पनि उपलब्ध गराउने प्रवक्ता भट्टराईको भनाइ छ । ‘अहिले ऊर्जा संकटले विश्वव्यापी प्रभाव परिरहेकाले नेपालमा पनि त्यसको असर परेको र त्यसलाई स्वाभाविक रूपमा लिनुपर्छ,’ प्रवक्ता भट्टराईले भने । औद्योगिक क्षेत्रमा झन्डै चार वर्षपछि लोडसेडिङ फर्किएको छ । नेपाल विद्युत् प्राधिकरणले वैशाख ०७५ मा औद्योगिक क्षेत्रलाई समेत लोडसेडिङमुक्त घोषणा गरेको थियो । रुस–युक्रेन युद्ध तथा विश्वव्यापी ऊर्जा संकटको प्रभाव नेपालको औद्योगिक क्षेत्रमा समेत परेको हो ।

यसअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब लोडसेडिङ कहिल्यै नहुने बताएका थिए । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले अहिले औद्योगिक क्षेत्रमा देखिएको विद्युत् अभाव ‘तत्कालिक संकट’ मात्र भएको भन्दै लोडसेडिङ कहिल्यै नहुने बताएका थिए । ३८ रुपैयाँ प्रतियुनिट तिरेर भए पनि उद्योगमा लोडसेडिङ हुन नदिने प्राधिकरणको प्रतिबद्धता दुई दिन पनि टिक्न नसकेको टिप्पणी उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रबलजंग पाण्डेले सामाजिक सञ्जालमार्फत गरेका छन् । 

नेपालले आयात गर्ने विद्युत् भारतले कोइला (कोल) आयात गरेर उत्पादन गरेको हो । त्यसरी उत्पादन गरिएको विद्युत् मात्र निर्यात गर्न पाउने भारतीय नीति रहेको छ । अहिले भारतमा आयातीत कोइलाको अत्यधिक अभाव छ । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले विश्वव्यापी ऊर्जा संकटको असर नेपालमा पनि देखिएको, तर यो दीर्घकालीन नहुन सक्ने बताए । 

सुझावित समाचार