जितपुर–सिमरा गोल्डकपको तयारी पूरा, बिहीबार उद्घाटन

बुधबार, ९ चैत, २०७८
डिजिटल संस्करण

मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता जगदम्बा जितपुर–सिमरा गोल्डकपको १२औँ संस्करणको तयारी पूरा भएको छ ।  आयोजक नवजनजागृति युवा क्लबले सिमरामा पत्रकार सम्मेलन गर्दै बिहीबारदेखि  सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । 

ए डिभिजनका पाँचसहित प्रतियोगितामा १० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए । लामाका अनुसार प्रतियोगितामा साबिक विजेता संकटा क्लब, एनआरटी क्लब, हिमालयन शेर्पा, फ्रेन्ड्स  क्लब, एपिएफ एफसी, सुदूरपश्चिम– ११, बिएफसी चितवन, विजय युथ हेटौँडा, बागमती युवा क्लब र आयोजक नवजनजागृति युवा सहभागी हुनेछन् । 

प्रतियोगिताको उद्घाटन खेल फ्रेन्ड्स क्लब र सुदूरपश्चिम– ११ बीच हुनेछ । फ्लडलाइटमा हुने डे–नाइट प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछ । आयोजकले यस वर्ष प्रथम पुरस्कार राशिमा तीन लाख र द्वितीय पुरस्कारमा एक लाख पचास हजार वृद्धि गरेको छ । ११औँ संस्करणमा प्रथम पुरस्कार सात लाख र द्वितीय पुरस्कार तीन लाख पचास हजार थियो ।

चैत १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल वा स्कुटर प्राप्त गर्ने अध्यक्ष लामाले जानकारी दिए 
 

सुझावित समाचार