व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन प्रधानमन्त्रीको निर्देशन

मंगलबार, ८ चैत, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्ने गरी व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम अघि बढाउन निर्देशन दिएका छन्।

मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटामार भएको उद्योग, वाणिञ्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्रीले व्यापार घाटा घटाउने गरी कार्यक्रम बनाउन निर्देशन दिएका हुन्। ‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईंहरूले व्यापार घाटा घटाउने गरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहोस्,’ प्रधानमन्त्रीले बैठकमा निर्देशन दिए। 

प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर हुने गरी सम्भावना भएका क्षेत्रमा लगानी बढाउने गरी अघि बढ्न भनेका छन्। उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने गरी मन्त्रालय र सरकारका कार्यालयहरूले नीति तय गर्न आग्रह गरेका छन्। 

प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउन विद्युतको खपत बढाउनुपर्ने भन्दै विद्युतीय सवारीसाधन, विद्युतीय चुलोलगायतको प्रयाेग बढाउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन्। ‘हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो,’ प्रधानमन्त्रीले भने, ‘अब हामीले पेट्रोलियम पदार्थ खरिदमा जाने ठूलो रकम कम गर्न पनि विद्युतीय सवारीसाधन प्रयोग गर्ने र विद्युतको खपत बढाउनु पर्छ ।’

उक्त समीक्षा कार्यक्रममा वाणिज्य मन्त्रालयका साथै राष्ट्रिय याेजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयलगायतका प्रतिनिधिहरू पनि सहभागी थिए।
 

सुझावित समाचार