नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठन (नाष्ट) ले विद्यालयस्तरीय विज्ञान मेला आयोजना गरेको छ । यही चैत ७ देखि ९ गतेसम्म बाग्लुङ सदरमुकाममा रहेको विद्यामन्दिर माध्यमिक विद्यालयमा प्रतियोगितात्मक विज्ञान मेलाको आयोजना गरिएको हो ।
मेलामा बाग्लुङ, पर्वत र म्याग्दीका १० विद्यालयबाट ६–६ जना विद्यार्थी र एक–एक शिक्षक गरी ७० जनाको सहभागिता हुने नाष्टका प्रवर्द्धन तथा प्रचार महाशाखा प्रमुख लुना बज्रले जानकारी दिइन् । काठमाडाैं उपत्यकाबाहेक हालसम्म देशका ६४ जिल्लामा सञ्चालन भएको मेला यस वर्ष बाग्लुङमा सञ्चालन गरिएको हो । मेलामा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफूहरूले निर्माण गरेका विज्ञान प्रविधिसँग सम्बन्धित सामग्रीहरूको प्रदर्शन गर्ने बज्रले बताइन् ।
विद्यार्थीलाई स्थानीयस्तरमा आफ्नो प्रयासमा वैज्ञानिक सिद्धान्त र प्राविधिक उपयोगको व्याख्यासहित प्रदर्शनी नमुनाहरू तयार पारी प्रदर्शन तथा प्रोत्साहित गरिने मेलाको मुख्य उद्देश्य रहेको महाशाखा प्रमुख बज्रको भनाइ छ ।
प्रदर्शनीको साथमा हाजिर जवाफ, वक्तृत्वकलाको आयोजना गरी विद्यालयका छात्रछात्रा एवं स्थानीय जनसमुदायमा वैज्ञानिक ज्ञान तथा चेतना फैलाउने गरी शिक्षकसहित अन्तर्क्रियाको कार्यक्रमसमेत राखिएको आयोजकले जनाएको छ । मेलामा शिक्षकहरूलाई उत्प्रेरित गर्नका लागि तालिम सञ्चालन गरिनेछ । मेलामा बाग्लुङको रुद्रेपीपल मावि, विद्यामन्दिर मावि, कुँडुले मावि, धौलागिरि वीरेन्द्र मावि, कालिका कन्या मावि र मूलपानी मावि सहभागी हुनेछन् । त्यसैगरी म्याग्दीको प्रकाश मावि, बेनी सामुदायिक मावि, पर्वतको नारायण मावि र शिवालय माविको सहभागिता रहने विद्यामन्दिर मावि बाग्लुङका प्रधानाध्यापक शान्तमणि ज्ञवालीले जानकारी दिए । मेलामा छनाेटमा परेका विद्यालयबाहेक अन्य विद्यालयका विद्यार्थीहरूको पनि सहभागिता रहनेछ ।
मेलामा प्राकृतिक सम्पदा तथा परम्परागत प्रविधि र जुडीबुटी तथा पाठ्यक्रममा आधारित विषयवस्तु समेटिनेछ । धौलागिरि क्षेत्रमा पहिलोपटक आयोजना गरिएको कार्यक्रम सदरमुकामकेन्द्रित भएको भनेर आलोचना पनि भएको छ । आयोजकले आगामी दिनमा ग्रामीण भेगका सामुदायिक विद्यालयलाई पनि समावेश गर्ने बताएको छ ।