नेकपाको केन्द्रीय समिति बैठक : निर्वाचनलाई उपयोग गरेर जाने विप्लवको प्रस्ताव

शुक्रबार, ४ चैत, २०७८
डिजिटल संस्करण

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रस्ताव पेस भएको छ । कपिलवस्तुमा सुरु भएको बैठकमा महासचिव विप्लवले राजनीतिक प्रस्ताव पेस गरेका हुन् । स्थानीय तह निर्वाचनमा सहभागी हुने वा बहिष्कार गर्ने भन्नेबारे बैठकले निर्णय गर्नेछ । 

महासचिव विप्लवले पेस गरेको प्रस्ताव अध्ययनका लागि केन्द्रीय सदस्यहरूलाई वितरण गरिएको नेता धर्वेन्द्र बाँस्तोलाले बताए । ‘बैठकमा महासचिव कमरेडले पेस गरेको प्रस्ताव अध्ययनका लागि केन्द्रीय सदस्यहरूलाई दिइएको छ । शनिबार पुन: बैठक बस्नेछ,’ उनले भने, ‘शनिबारको बैठकमा महासचिवको प्रस्तावबारे केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यसूची छ ।’ 

स्थानीय तह निर्वाचनमा सहभागी हुने वा बहिष्कार गर्ने भन्नेबारे नेकपामा विवाद छ । महासचिव विप्लवसहित प्रवक्ता खड्कबहादुर विश्वकर्मा निर्वाचनमा सहभागी हुनुपर्ने लाइनमा छन् । केन्द्रीय समिति बस्नुअघि बसेको सचिवालय बैठकमा विप्लवले निर्वाचनलाई उपयोग गरेर जानुपर्ने बताएका थिए । तर हेमन्तप्रकाश ओली र धर्वेन्द्र बाँस्तोलाले विप्लवको प्रस्ताव अस्वीकार गरेका थिए ।

अर्का सचिवालय सदस्य सन्तोष बुढा मगर भने तटस्थ बसेका छन् । सन्तोष बुढामगर तटस्थ बस्दा सचिवालयमा दुवै पक्षमा बहुमत र अल्पमत हुन सकेको छैन । विप्लवले निर्वाचनलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव बैठकमा पेस गरेको एक केन्द्रीय सदस्यले बताए ।

‘महासचिवले आफ्नो प्रस्तावमा सचिवालयमा बहुमत पुर्याएर केन्द्रीय समितिमा प्रस्तुत गर्न खोज्नुभएको थियो,’ एक केन्द्रीय सदस्यले भने, ‘सन्तोष कमरेड तटस्थ बस्दा बहुमत वा अल्पमत हुन सकेको छैन । अब केन्द्रीय समितिले निर्णय लिन्छ ।’
 

सुझावित समाचार