नवीन सुब्बाको निर्देशनमा सिनेमा ‘गाउँ आएको बाटो’को छायांकन सकिएको छ । ६० दिन लगाएर सिनेमाको छायांकन सकिएको हो । पूर्वी पहाडको राई समुदायको कथामा आधारित ‘गाउँ आएको बाटो’ भोजपुरको बलंखा, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायांकन गरिएको निर्देशक सुब्बाले बताए ।
उनले भने, ‘मेरो लागि यो अवधि निकै महत्वपूर्ण रह्यो । जसरी सिनेमा छायांकनको योजना बनेको थियो, त्यसरी नै छायांकन सकिएको छ ।’ उनले सिनेमा सोचेजस्तै राम्रो हुने विश्वास व्यक्त गरे । ‘कलाकारहरूले पनि निकै मिहिनेत गरेर काम गर्नुभएको छ । उहाँहरूसँगको काम गराई निकै उत्कृष्ट रह्यो । सबैले आ–आफ्नो जिम्मेवारीपूर्वक काम गर्नुभएको छ । यसले पनि राम्रो सिनेमा बनेको छ भनेर ढुक्क हुन सकिन्छ ।’

त्यस्तै, चार महिनासम्म छायांकन स्थलमा बसेर ६० दिनमा ‘गाउँ आएको बाटो’ को छायांकन सकिएको निर्माता अमोद राईले बताए । ‘भौगोलिक रूपमा छायांकनस्थल निकै विकट थियो । मोटरबाटोपछि पनि दुई–तीन घन्टा पैदल हिँड्नुपर्थ्याे । ५०–६० जना टिम लिएर यस ठाउँमा छायांकन गर्नु आफैँमा चुनौती थियो,’ निर्माता राईले भने, ‘केही अफ्ठ्याराका बाबजुत सहजै छायांकन सकिएको छ । यसको रिजल्ट राम्रो आउँछ भन्ने अपेक्षा छ । निर्माता राईले ‘गाउँ आएको बाटो’ले दर्शकमाझ फरक स्वाद लिएर आउने बताए । उनका अनुसार गाउँमा मोटरबाटो भित्रिएपछि आधुनिक रूपमा रूपान्तरण भएको राई समुदायको कथामा ‘गाउँ आएको बाटो’ निर्माण भएको छ । सिनेमा निर्माणका लागि नेपाल, हङकङ, मकाउ, युके, अमेरिका, बेल्जियम, दक्षिण कोरिया, नेदरल्यान्ड, पोर्चुगल र जर्मनीमा रहेका राई समुदायका प्रतिनिधिबाट लगानी जुटाइएको हो । सिनेमा सम्पादनको काम अर्को महिनादेखि सुरु गरिने उनले बताए ।

सिनेमामा अभिनेता दयाहाङ राई र पशुपति राईको मुख्य भूमिका छ । सिनेमामा अलवा पर्शन राई, खनुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा, राज थापा काउचालगायतका कलाकारको पनि अभिनय छ । ‘गाउँ आएको बाटो’को कास्टिङ निर्देशन सिर्जना सुब्बा र केदार श्रेष्ठले गरेका हुन् । सिनेमाको प्रमुख सहनिर्देशक राजेश विश्वकर्मा छन् भने सहनिर्देशकमा अनिता रसाइली र विशाल न्यौपाने रहेका छन् । नवीन सुब्बा एक दशकपछि निर्देशनमा फर्किएका हुन् । उनको यो तेस्रो फिचर सिनेमा हो । यसअघि उनले ‘नुमाफुङ’ र ‘गुडबाई काठमाडौं’ सिनेमा निर्देशन गरेका थिए ।