केही बैंक तथा वित्तीय संस्थाको सहकार्यमा नेपाल पे क्युआर पूर्ण रूपमा सञ्चालनमा आएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयनमा ल्याएको नेसनल पेमेन्ट स्विचअन्तर्गत नेपाल–क्युआर स्ट्यान्डर्डअनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्युआर सञ्चालनमा ल्याइएको हो ।
आइक्युआर स्किमका रूपमा पनि उपलब्ध रहेको नेपाल पे क्युआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको जनाइएको छ । यसरी अन्तरआबद्धता कायम गर्न सकिने हुँदा यसले नेपालमा क्युआरबाट हुने भुक्तानीलाई थप प्रवद्र्घन र सहज गर्ने कम्पनीले अपेक्षा गरेको छ ।
हालसम्म हिमालयन बैंक, सानिमा बैंक, समृद्धि फाइनान्स कनेक्ट आइपिएसलगायतका मोबाइल एपबाट क्युआर स्क्यान गरी कारोबार गर्न सकिने जनाइएको छ । यी सबै गरी १४ लाखभन्दा बढी प्रयोगकर्ता रहेको क्लियरिङ हाउसले जनाएको छ । साथै, नेपाल पे क्युआरको पूर्वाधारमा हिमालयन बैंक, एनआइसी एसिया बैंक, कामना सेवा विकास बैंक, समृद्धि फाइनान्स र फोकसवान सोलुसन्समार्फत क्युआर अक्वायरको कार्य पनि सुरु भइसकेको जनाइएको छ । हिमालयन बैंक र फोकसवान सोलुसन्सबीच भने मर्चेन्ट स्तरको अन्तरआबद्धता कायम गर्ने गरी व्यवस्था मिलाएकोे उल्लेख छ । जसअन्तर्गत एउटै क्युआर स्क्यान गरी भिसा, युनियन पे, अली पे र नेपाल पे क्युआरलगायतका विभिन्न नेटवर्कबाट भुक्तानी गर्न सकिने जनाइएको छ ।
पेमेन्ट स्विचअन्तर्गत विभिन्न सेवा तथा उपकरणहरू सञ्चालन गर्न एनसिएचएलले बैंक वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकसँग आवश्यक सहकार्य गर्दै आएको जनाइएको छ । जसका निम्ति ४० बैंक वित्तीय संस्था र ६ भुक्तानी सेवाप्रदायकले सम्झौता गरिसकेको एनसिएचएलले जनाएको छ ।