निगमको ग्राउन्डेड न्यारोबडी जहाज उड्यो

शनिबार, २८ फागुन, २०७८
डिजिटल संस्करण

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को ग्राउन्डेड न्यारोबडी ए–३२० जहाजले शनिबारदेखि पुनः नियमित उडान सुरु गरेको छ। इन्जिनमा समस्या आएर कतारको दोहामा दुई महिनाअघि ग्राउन्डेड भएको उक्त जहाज मर्मतपछि उडानयोग्य भएको थियो। उक्त जहाजको एउटा इन्जिन भाडामा लिएर उडानयोग्य बनाइएको हो।

ग्राउन्डेड जहाज मर्मतपछि आजदेखि नियमित उडान सुरु गरेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए। उनले भने, “जहाज आजदेखि उडिसक्यो, यो जहाज बन्दै नबनोस्, नउडोस् र यसको विरोध गरेरै खान पाइयोस् भनेर केही मान्छे लागेका थिए। मैले काम गरेर उनीहरूको मुखमा बुझो लगाइदिएको छु।”

कार्यकारी अध्यक्ष अधिकारीले निगमको व्यवस्थापन सुधारदेखि सेवा सुदृढीकरण र बजार विस्तारमा आफू अहोरात्र लागिपरेको बताए। आफ्नो मिहिनेत, कर्मचारीको साथ र सहयोगले नै छोटो समयमा निगमभित्र धेरै सकारात्मक परिवर्तन गरिएको र यसलाई परिणाममुखी बनाउने दिशामा अग्रसर रहेको उनले उल्लेख गरे। अन्य काममा पनि निगमभित्रका कर्मचारीहरूको सहयोग र तालुकदार मन्त्रालय र नियामक निकायसँगको समन्वयमा केही नतिजामुखी काम भएको उनको जिकिर छ।

निगमको उक्त जहाज २८ डिसेम्बर २०२१ मा काठमाडौं–दोहा नियमित उडानमा सुरक्षित अवतरणपश्चात् पार्किङ गर्ने क्रममा एउटा इन्जिनमा प्राविधिक समस्या देखिएको थियो। दोहास्थित कतार एयरवेजका इन्जिनियरले जहाज निरीक्षण गर्दा बायाँतर्फको इन्जिनमा खराबी पहिचान भएको थियो। इन्जिन फेर्नुपर्ने प्राथमिक राय प्राप्त भएकाले निगम व्यवस्थापनले जहाजलाई छिटो उडानयोग्य बनाउन इन्जिन भाडामा लिएर उडाउने निर्णय गरेको थियो। इन्जिन भाडामा लिन ९ जनवरी २०२२ मा आरएफपी आह्वान गरिएको थियो। 

इच्छुक कम्पनीबाट बोलपत्र आह्वान गरिएकामा छनाेट भएको एमटियू मेन्टिनेन्स लेन्स सर्भिसले इन्जिन भाडामा दिएर जहाज उडानयोग्य बनाएको निगमले उल्लेख गरेको छ। उक्त इन्जिन मर्मतका लागि निगमले २४ जनवरी २०२२ मा बोलपत्र आह्वान गरिसकेको छ। निगमको अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाज छन्। रासस

सुझावित समाचार