सेयर बजारबारे जानकारी दिन नबिल इन्भेष्टमेन्टको कार्यक्रम

बिहिबार, २६ फागुन, २०७८
डिजिटल संस्करण

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको २०७७/०९/२७ को निर्देशनबमोजिम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालको सेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र धितोपत्रसम्बन्धी धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन–नियम तथा निर्देशनहरूमा भएको व्यवस्था के छ भन्नेबारेमा जानकारीमूलक कार्यक्रम गरेको छ । कम्पनीले धितोपत्र व्यवसायी तथा मर्चेन्ट बैंकरहरूको काम, कर्तव्य र अधिकारका बारेमा समेत जानकारी दिने उद्देश्यले सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम गरेको हो । 

कार्यक्रममा कम्पनीका इन्भेष्टमेन्ट बैंकिङ विभाग प्रमुख विकासचन्द्र भण्डारीले धितोपत्र बजारबाट लिन सकिने फाइदा र मर्चेन्ट बैंकरहरूले प्रदान गर्ने सेवाका बारेमा जानकारी दिएको जनाइएको छ । हालसम्म गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सञ्चालन गरिएको यस्तो कार्यक्रम निकट भविष्यमा देशको सातै प्रदेशमा सञ्चालन गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

५० लाखभन्दा बढी डिम्याट खाता खुलिसकेको नेपालको धितोपत्र बजारमा २६ लाखभन्दा बढी प्राथमिक निष्कासनमा आवेदन पर्न थालिसकेको छ । यस्तो अवस्थामा धितोपत्र बजारसम्बन्धी यथार्थ जानकारी तथा यसमा कसरी प्रवेश गर्न सकिन्छ र यसबाट लिन सकिने फाइदा तथा यसबाट हुने जोखिमका बारेमा जानकारी दिनु कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ । 

सुझावित समाचार