पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले अनुदानमा ट्यांकर उपलब्ध गराएपछि यहाँका दुग्ध उत्पादक किसानलाई सहज भएको छ। कार्यालयले ५० प्रतिशत अनुदानमा हिमाली डेरी उद्योगकी सञ्चालक मनकोइला धिताललाई ट्यांकर उपलब्ध गराएसँगै दूध बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता हटेको हो।
एक हजार लिटरसम्म दूध बोक्न सक्ने क्षमताको ट्यांकर उपलब्ध गराइएको हो। यसले यहाँको दूध उत्पादन बढाउन प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ। कार्यालयले ५० प्रतिशत अनुदानमा ट्यांकर उपलब्ध गराएपछि किसान निकै उत्साहित भएका छन्। ट्यांकरका लागि डेरी उद्योगकी सञ्चालक धितालका अनुसार ३२ लाख ९५ हजार रुपैयाँ लागतमा ट्यांकर आइपुगेको बताइन्।
किसानले एक ठाउँमा दूध संकलन गरेर राखेमा गाउँमै पुगेर दूध संकलन गर्न सकिने डेरी सञ्चालक धितालले बताइन्। उनले भनिन्, ‘अब दूध बोकेर किसानले दुःख गर्नुपर्दैन। किसानले मगाएको खण्डमा घरदैलोमा दूध संकलन गरेर बजारसम्म ल्याउन ट्यांकर तयारी अवस्थामा छ।’
अहिले नाग्म, कुडारी, लाम्रा र बजार क्षेत्रका दूध डेरीमा सहजै रूपमा दुध पुर्याउने काम भइरहेको छ। सदरमुकाम खलंगाभित्र र बाहिरको गरी नाैवटा डेरीमा दूध पुग्ने गरेको उनले बताइन्। उनले भनिन्, ‘ट्यांकर पुग्दा १० जनाले रोजगारी पाएका छन्। एक महिनामा झन्डै ६ लाख रुपैयाँको दूध बिक्री हुने गरेको छ।’
कार्यालयका प्रमुख गोविन्द महतका अनुसार पछिल्लो समय किसानहरू दूध उत्पादनमा हौसिएका छन्। ‘ट्यांकर खरिद गर्ने कार्यक्रम जुम्लाका लागि नयाँ कार्यक्रम हो। अब ट्यांकङकरले दूध उत्पादक किसान र डेरीसँगको समन्वय निकै प्रगाढ बनाउनेछ। दूध बिक्री भएन भन्ने किसानको गुनासो सुन्नुपर्नेछैन। किसानको दूधलाई सुरक्षित साथ डेरीसम्म पुर्याउनेछ,’ उनले भने।
जुम्ला सदरमुकाम खलंगामा पाँचवटा डेरी उद्योग सञ्चालनमा छन्। पछिल्लो समय जुम्ला दूधमा आत्मनिर्भर हुने दिशामा अघि बढेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ।