आइतबार कारोबारको सुरुवातमा बढ्ने संकेत देखाए पनि बन्द हुँदा भने नेप्से परिसूचक ३ दशमलव ६६ अंक घटेको छ । दुई हजार पाँच सयको तहमा आइपुगेको नेप्सेले यही तहआसपास टेवा परीक्षण गरिरहेको छ । बजारले अझै स्पष्ट दिशा लिन सकेको छैन । घट्दो कारोबार रकमले पनि लगानीकर्ताले ठोस निर्णय लिन नसकेको संकेत गरिरहेको छ । यसअघिका दिनहरूमा तीन अर्बमाथिको कारोबार हुँदै आएकोमा आइतबार कारोबार रकम दुई अर्ब ४९ करोड रुपैयाँमा सीमित भएको छ ।
बैंकमा देखिएको तरलताको अभाव, सेयर धितो कर्जालगायत विभिन्न कारणले बजार घटिरहेको लगानीकर्ता बताउँछन् । आइतबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३० कम्पनीको ५१ लाख ३९ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ । शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, अपि पावर कम्पनी, हिमालयन डिस्टिलरी लिमिटेड, नेपाल दूरसञ्चार कम्पनीको सेयर आठ करोडदेखि १५ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।
घट्दो बजारमा लगानीकर्ताले छानेर कम्पनीहरूमा लगानी गरिरहेका छन् । यही कारण ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स भने एक दशमलव ३० अंकले बढेर चार सय ९० दशमलव १३ बिन्दुमा पुगेको छ । आइतबार एक सय एक कम्पनीको सेयर मूल्य घटेको छ भने ७८ वटा कम्पनीको सेयर मूल्य बढेको छ । सबैभन्दा धेरै घट्ने समूहमा उत्पादनमूलक समूह छ । यो समूह २ प्रतिशतले घटेको छ ।
त्यस्तै, जीवन बिमा समूह १ प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ वटा समूह सूचकमध्ये तीनवटा समूहको सूचक बढेको छ । विकास बैंक समूह, होटेल तथा पर्यटन समूह र वाणिज्य बैंक समूह सूचक सामान्य बढेको हो । यस दिन शिवम् सिमेन्ट, रिलायन्स लाइफ इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, युनिभर्सल पावर कम्पनी, पाँचथर पावर कम्पनीको सेयर मूल्य ३ देखि ७ प्रतिशतले घटेको छ । मैलुङ खोला जलविद्युत् कम्पनी, सामलिङ पावर कम्पनी, नेपाल ल्युब आयल लिमिटेड, न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्य २ देखि करिब ८ प्रतिशतले बढेको छ ।