सुन आयातको दैनिक कोटा १० केजी मात्र, मूल्य एक लाखमाथि

सोमबार, २३ फागुन, २०७८
डिजिटल संस्करण

राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा २० केजीबाट घटाएर १० केजीमा सीमित बनाएको छ । सुन आयात तथा बिक्री–वितरणसम्बन्धी कार्यविधि २०६८ मा संशोधन गर्दै राष्ट्र बैंकले आयातको कोटा घटाएको हो । यसअघि चैत ०७७ मा यस्तो कोटा १० केजीबाट बढाएर २० केजी पुर्याइएको थियो । कार्यविधिअनुसार वाणिज्य बैंकहरूले मात्रै नेपाल बैंकर्स संघको सिफारिसमा सुन आयात गर्न पाउँछन् । मुलुकको विदेशी मुद्रा सञ्चितिमा ह्रास आएसँगै राष्ट्र बैंकले सुनको आयात कोटा पनि घटाएको हो । 

‘अहिले मुलुकको अर्थतन्त्रमा नै समस्या आउन थालेसँगै राष्ट्र बैंकले यो निर्देशन दिएको देखिन्छ,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले भने, ‘संकट व्यवस्थापनका लागि आएको यो निर्देशन अवस्था सहज भएसँगै परिमार्जन हुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।’सुन मुलुकमा आयात हुने प्रमुख ११औँ वस्तुमा पर्छ । चालू आवको सात महिनामा गत आवको यही अवधिको तुलनामा सुन आयात ८४ प्रतिशतले बढेर २७ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । 

आयातमा भइरहेको वृद्धि र विदेशी मुद्रा आम्दानीका स्रोतमा आएको संकुचनसँगै मुलुकको विदेशी मुद्रा सञ्चितिमा ह्रास आइरहेको छ । गत असारयता मात्रै विदेशी मुद्रा सञ्चिति १६ प्रतिशतभन्दा धेरैले घटेर ११ खर्ब ६५ अर्बमा सीमित भएको छ । यस्तो सञ्चितिले हालको प्रवृत्तिअनुसार ६ महिना ६ दिनको वस्तु तथा सेवा आयात मात्र धान्न सक्ने अवस्था छ । 

हाल बजारमा दैनिक २५ देखि ३० केजी सुनको माग हुने भए पनि आयातले नपुग्ने माग सर्वसाधारणले गर्ने पुराना सुन बिक्री तथा अनौपचारिक माध्यमबाट आएको सुनले समेत धान्दै आएको थियो । हाललाई वैशाख नलागी वैवाहिक लगन तथा अन्य रीतिरिवाज नभएकाले तत्काललाई कोटा घटे पनि बजारमा मागसमेत नबढ्ने अनुमान महासंघको छ । 

प्रतितोला एक लाख नाघ्यो मूल्य
सुनको (छापावाल) मूल्य आइतबार एकै दिन दुई हजार रुपैयाँले बढेर प्रतितोला एक लाख एक हजार नौ सय रुपैयाँ पुगेको छ । सुनको मूल्य १९ महिनायताकै उच्च हो । यसअघि २६ साउन ०७७ मा मूल्य एक लाख दुई हजार चार सय रुपैयाँ रहेको थियो । 

हाल युक्रेन र रसियाबीच भड्किरहेको द्वन्द्वको प्रभाव सुनको मूल्यमा परिरहेको छ । कच्चा तेल र धातुको मूल्यमा आइरहेको बढोत्तरीले सुनको मागमा समेत वृद्धि हुने र मूल्य थप बढ्ने आकलन अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरिरहेका छन् । जोखिम तथा अन्तर्राष्ट्रिय तनावको समयमा सुनजस्ता सर्वमान्य सम्पत्तिको मूल्य बढ्ने प्रवृत्ति यसअघिदेखि नै देखिँदै आएको छ ।

See More On

सुझावित समाचार