रुसविरुद्धको नयाँ शीतयुद्धको ताप अहिले अत्यधिक बढेको छ । हाल विकास भएको घटनाक्रमका लागि भ्लादिमिर पुटिन निःसंकोच जिम्मेवार छन्, तर पछिल्लो २५ वर्षको नेटोको रुसप्रतिको दम्भी र चरम उदासीन नीतिले पनि कम भूमिका खेलेको छैन । यथार्थवाद र नियन्त्रणको अमेरिकी विदेश नीतिमा रुचि राख्ने विश्लेषकले इतिहासकै सबैभन्दा शक्तिशाली सैन्य गठबन्धनलाई अर्को शक्तिशालीसम्मुख पुर्याए सुखद नतिजा नआउन सक्छ भनेर विगत २५ वर्षदेखि चेतावनी दिँदै आएका थिए । र, अहिलेको युक्रेन युद्धले सो चेतावनीलाई पुष्टि गरिदिएको छ ।
सामरिक त परको विषय भयो, रुसले मित्रवत्समेत नठान्ने साधारण कार्यक्रमलाई समेत लिएर यदि नेटोले पूर्वतर्फ पाइला पसार्छ भने सो कदम अत्यधिक कठिन हुनेछ भनेर मैले सन् १९९४ मा ‘बियोन्ड नेटो : स्टेइङ आउट अफ युरोपियन वार्स’ पुस्तकमा लेखेको थिएँ । मैले पुस्तक लेख्दै गर्दा न्युयोर्क र वासिंगटन डिसीमा नेटो विस्तारबारे विदेश नीतिसम्बन्धी सम्मेलन छिटपुट रूपमा हुने गर्थे । मैले पुस्तकमा नेटोको विस्तारले ‘रुसलाई अनावश्यक रूपमा भड्काउँछ’ भनेर पनि उल्लेख गरेको थिएँ ।
त्यतिवेला सार्वजनिक नभएको विषय के थियो भने बिल क्लिन्टन प्रशासनले विघटित वार्सा सम्झौतामा रहेका मुलुकलाई नेटोमा समाहित गर्ने गम्भीर निर्णय लिइसकेका थिए । र, अन्ततः सन् १९९८ मा अमेरिकी सिनेटले पोल्यान्ड, चेक गणतन्त्र र हंगेरीलाई नेटोको सदस्य राष्ट्र बनायो । यो घटना नेटो विस्तारको पहिलो कडी थियो । पहिलो कडीले नै रुसलाई क्रुद्ध बनाएको थियो । क्लिन्टन प्रशासनका विदेशमन्त्री मेडेलिन अल्ब्राइटले आफ्नो संस्मरणमा ‘पूर्वी युरोपमा पाइला पसार्ने र रुसको असुरक्षित अवस्थाको फाइदा उठाएर मुलुकलाई एक्ल्याउने चाल भएको भनी बोरिस येल्तसिन (तत्कालीन रुसी राष्ट्रपति) र जनताले नेटो विस्तारको विरोध गरेका थिए’ भनेर लेखेकी थिइन् । त्यसैगरी तत्कालीन उपविदेशमन्त्री स्ट्रोब टाल्बोटले रुसी मनस्थितिलाई ‘थुप्रै रुसी नेटोलाई शीतयुद्धको अवशेष मान्छन् र यसलाई रुसविरुद्ध लिन्छन् । उनीहरू वार्सा सम्झौता र सैन्य गठबन्धन खारेज हुँदा पश्चिमले त्यसो किन नगरेको भनेर आँैल्याउँछन्’ भन्दै व्याख्या गरेका थिए । यो गम्भीर प्रश्नको न त क्लिन्टन प्रशासन न यसका उत्तराधिकारीले चित्तबुझ्दो जवाफ दिए ।
शीतयुद्धताकाका अमेरिकी नियन्त्रण नीतिका बौद्धिक पिता मानिने जर्ज केन्नानले २ मई सन् १९९८ मा नेटोको पहिलो विस्तारको अनुमोदनका वेला न्युयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा ‘नयाँ शीतयुद्ध आरम्भ भयो’ भनेका थिए । अन्तर्वार्तामा उनले ‘रुसीहरूले बिस्तारै प्रतिकूल ढंगले प्रतिक्रिया जनाउनेछन् र उनीहरूका नीति प्रभावित हुनेछन् । मलाई लाग्छ, यो दुःखद गल्ती हो । जेसुकै कारण भए पनि नेटो विस्तारको कुनै उपादेयता नै छैन,’ भनेका थिए । केन्नानको सुझाब ग्रहण गरिएन र अमेरिका तथा नेटोका नेताले अर्को चरणको विस्तार थाले, जहाँ तीन बाल्टिक गणतन्त्रलाई समाहित गर्ने भड्काउपूर्ण कदम पनि थियो । यी बाल्टिक गणतन्त्र कुनैवेला सोभियत संघका हिस्सा मात्रै नभई जारकालीन रुसी साम्राज्यका हिस्सा पनि थिए । नेटोको यही विस्तारको लहर अहिले रुसी संघको सरहदमा पुगेको हो ।
नेटोप्रति मस्कोको धैर्य दिनानुदिन खस्किँदै गयो । सन् २००७ मा वार्षिक म्युनिख सुरक्षा सम्मेलनमा पुटिनले गरेको सम्बोधन सम्भवतः अन्तिम मैत्रीपूर्ण चेतावनी थियो । सम्मेलनमा पुटिनले नेटोको विस्तारले पारस्परिक विश्वासलाई घटाउनेछ भनेका थिए । र, उनले कसलाई लक्षित गरेर नेटोले आफ्नो विस्तार गरेको हो र वार्सा सम्झौता विघटनपछि रुसलाई पश्चिमा साझेदारले दिएका प्रतिबद्धताको जवाफदेहिताबारे प्रश्न तेस्र्याएका थिए ।
जर्ज डब्ल्यु बुस र बाराक ओबामा प्रशासनमा रक्षामन्त्री रहेका रोबर्ट एम. गेट्सले आफ्नो संस्मरणमा अमेरिकाले सन् १९९३ मा जर्ज एचडब्ल्यु बुस प्रशासनपछि रुससँगको सम्बन्धलाई नराम्रोसँग गिजोलेको भन्ने लाग्छ भनेर लेखेका थिए । कनिष्ट बुससँग घुमाउरो ढंगले चरम असन्तुष्टि जनाउँदै गेट्सले बुसको जर्जिया र युक्रेनलाई नेटोमा गाभ्ने प्रयास वास्तवमा अति–महत्वाकांक्षा हो भन्ने दाबी गरेका थिए, किनभने यहाँनेर रुसी संवेदनशील राष्ट्रिय स्वार्थलाई बेवास्ता गरिएको थियो । लगत्तै एक वर्षपछि मस्कोले मौखिक प्रतिकारलाई त्याग्यो । नतिजा, मस्कोले जर्जियाको पश्चिमपरस्त सरकारको मूर्खतापूर्ण सैन्य आक्रामकतापछि दुई अलगाववादी क्षेत्रलाई जर्जियाबाट स्थायी रूपमा अलग गर्यो र आफ्नो नियन्त्रणमा राख्यो ।
तैपनि, पश्चिमा नेता विशेषत : अमेरिकी नेताहरूले रुसी चेतावनीलाई बेवास्ता गरिरहे । ओबामा प्रशासनले सन् २०१३ मा युक्रेनको राजनीतिक मामिलामा त चकित नै पार्ने गरी हस्तक्षेप गर्यो र सन् २०१४ मा रुसपरस्त राष्ट्रपतिलाई अपदस्थ गर्नसमेत सहयोग गर्यो । यो नांगो हस्तक्षेपले रुसलाई क्रिमियामा कब्जा गर्न मार्गप्रशस्त गर्यो र प्रतिशोधको नयाँ शीतयुद्ध सुरु भयो । पछिल्ला दुई महिनामा भएका घटनामा हालको युद्धलाई रोक्ने अन्तिम मौका थियो । पुटिनले नेटोसँग थुप्रै सुरक्षा मामिलामा प्रत्याभूति खोजेका थिए, विशेषतः पूर्वी युरोपमा कुनै किसिमको सैन्य गतिविधि नहोस् र युक्रेनलाई कहिल्यै सदस्यताको प्रस्ताव नगरियोस् भन्ने माग गरिएको थियो । बाइडेन प्रशासनले रुसी मागलाई बेवास्ता गर्यो । अन्ततः पुटिनले धाबा बोले । युक्रेनलाई नेटोको राजनीतिक एवं सैन्य कठपुतली बनाउने वासिंगटनको प्रयासको युक्रेनी जनता अहिले मूल्य चुकाइरहेका छन् ।
इतिहासले सोभियत संघको पतनपछि वासिंगटनले रुससँग गरेको व्यवहारमा भयंकर नीतिगत त्रुटि थियो भनेर मूल्यांकन गर्नेछ । विभिन्न संवेदनशील विश्लेषणले सम्भावित परिणामबारे चेतावनी दिएकै थिए तर यी चेतावनी उपेक्षित भए । र, हामी अहिले अमेरिकी संस्थापनको अदूरदर्शी र अहंकारयुक्त विदेश नीतिको मूल्य चुकाइरहेका छौँ । द गार्जियनबाट