श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि माल्दिभ्सका नवनियुक्त राजदूत डा. हसन नियाजले शिष्टाचार भेट गरेका छन्। ललितपुरस्थित निवासमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल-माल्दिभ्स श्रम समझदारीको तयारीका साथै दुई देशबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भयो। भेटवार्तामा मन्त्री श्रेष्ठले नेपाली डाक्टर तथा नर्सहरूलाई माल्दिभ्समा रोजगारी उपलब्ध गराउन माल्दिभ्स सरकारबाट प्राप्त अनुरोधलाई नेपाल सरकारले सकारात्मक रूपमा लिएको बताए।
पछिल्लो समय माल्दिभ्समा रोजगारीका लागि जाने नेपालीको संख्या बढ्दै गएको छ। माल्दिभ्समा ५ हजारभन्दा धेरै नेपाली श्रमिक कार्यरत छन्। मन्त्री श्रेष्ठले मेडिकल क्षेत्रबाहेक पर्यटन, निर्माणलगायत क्षेत्रमा पनि नेपाली श्रमिकलाई हुन सक्ने रोजगारीको अवसरबारे चासो राखेका थिए।
नेपाली डाक्टर तथा नर्सहरूलाई माल्दिभ्सको सरकारी अस्पतालहरूमा रोजगारी उपलब्ध गराउन नेपाल-माल्दिभ्स श्रम समझदारीपत्रको मस्यौदालाई अन्तिम रूप दिने तयारी भइरहेको छ। अहिले माल्दिभ्सका विभिन्न स्वास्थ्य संस्थामा २ सयभन्दा धेरै नेपाली डाक्टर तथा नर्सहर रहेका छन्।
उनीहरूले माल्दिभियन मुद्रामा आफ्नो पारिश्रमिक प्राप्त गर्ने र स्थानीय बैंकहरूले मुद्रा विनिमयको सुविधा नदिँदा अनौपचारिक बजारमा महँगो दरमा अमेरिकी डलर किन्नुपर्ने बाध्यता रहेको बताउँदै मन्त्री श्रेष्ठले माल्दिभियन बैंकहरूमार्फत डलर विनिमयको सुविधा दिन आग्रह गरे।
मन्त्री श्रेष्ठले नेपालमा चिकित्सा अध्ययनका लागि माल्दिभ्सका विद्यार्थीहरूलाई अवसर दिन यसअघि भएको शैक्षिक सहयोगसम्बन्धी सम्झौता नवीकरण गर्न नेपाल सरकार सकारात्मक रहेको बताए। कोरोना भाइरस महामारीमा माल्दिभ्स सरकारले २ लाख डोज खोप उपलब्ध गराएकोमा पनि उनले माल्दिभ्स सरकारलाई धन्यवाद दिए। सन् १९८० मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।